बडादसैँलाई चुनावी अभियानको रुपमा मनाउँदै राजनीतिक दल

काठमाण्डु टुडे २०७० असोज २८ गते १०:३९ मा प्रकाशित

काठमाण्डु २८ असोज-वर्षदिनमा एक पटक आउने नेपालीहरुको महान चाड बडादसैँ यतिखेर नेपालीको घरघरमा आपसमा खुसीयालीसँगै धुमधामका साथ मनाईदैंछ ।
विजयादशमीको दिन सोमबार मान्यजन र आफन्तबाट टीका र जमरा लगाइ आशिर्वाद थाप्ने क्रम चलिरहेको छ । विजयदशमीको रौनक जति छ आम नेपालीहरुमा त्यो भन्दा  राजनीतिक दलका नेताहरुलाई नजिकिदै गरेको संविधानसभा निर्वाचनले बढि तताईरहेको छ ।
राजनीतिक दलका शीर्ष नेताहरु दसैँको सन्दर्भमा आफ्नो गाउँ निर्वाचन क्षेत्रमा गई आफन्त साथीभाईसँग खुसीयाली साट्दै  संविधानसभाको निर्वाचनमा आफ्नो पक्षमा वातावरण बनाउन लागि परेका छन् ।
केही शीर्ष नेताहरु दसैं र निर्वाचनको सन्दर्भमा आ–आफ्नो गृह र निर्वाचन क्षेत्रमा पुगेर चुनावी प्रचार–प्रसारमा जुटिरहेका छन् । प्रमुख दलका शीर्ष नेताहरु मात्र हैन अन्य साना दलका नेता कार्यकर्ता पनि दसैँलाई निर्वाचन अभियानको रुपमा मनाई रहेका छन् ।
उनीहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा गएर दसैँको मौकामा भेटघाट र सम्बन्ध विस्तारमा जुटिरहेका छन् ।अहिले सबैभन्दा बढी चटारो प्रमुख राजनीतिक दल एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकमा (एमाले) लाई छ ।
निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी र निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार छनौट, दुबै विषय टुङ्गो लगाउन तीन पार्टीलाई दसैँको समयमा पनि भ्याई नभ्याई भएको छ ।
ती दलहरु दसैँको उल्लासमय वातावरणमा केन्द्रमा उम्मेदवार छनौट र पार्टीको घोषणापत्र तयारीलाई अन्तिम रुप दिन लागिपरेका छन् ।दसैंको सन्दर्भमा काँग्रेस सभापति सुशील कोइराला गृहनगर नेपालगञ्ज पुगेर आफ्ना मतदातासँग भलाकुसारी गर्दै छन ।
उनी केहीदिन आफन्त, साथीभाई र नेताकार्यकर्ताबीच चुनावी प्रचारप्रसारकै क्रममा नेपालगञ्ज रहने कोइरालाका सहयोगी लक्ष्मण ढकालले बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीको घोषणापत्र र समानुपातिकतर्फका उम्मेदवारको टुङ्गो लगाउन व्यस्त छन । त्यसका लागि दशैकै वीचमा प्रचण्ड निवास लाजिम्पाटमा केन्दीय कार्यालयको बैठक  बसिरहेको छ । एक–दुई दिनमै दुबै विषयको टुङ्गो लगाउनेगरी केन्द्रीय कार्यालयको बैठक बसिरहेको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले बताए ।
नेकपा एमाले पनि पार्टीको घोषणापत्र र समानुपातिक उम्मेदवार छनौटको अन्तिम तयारीमा जुटिरहेको छ । एमाओवादी र एमालेले एक–दुई दिनभित्रै पार्टी घोषणापत्रको टुङ्गो लगाउने बताएका छन् ।
एमाले अध्यक्ष झलनाथ खनालले भने ‘‘दसैंलाई चुनावी अभियानको रुपमा अघि बढइरहेको छु, निर्वाचनका लागि पार्टीको घोषणापत्र करिव तयार भईसकेकोले चाँडै टुङ्गो लाग्छ, एक–दुई दिनभित्रै समानुपातिक उम्मेदवारको पनि छिनोफानो गरेर आफ्नो निर्वाचन क्षेत्र ईलाम जान्छु ।’’
एमाओवादी र काँग्रेसले पनि समानुपातिक उम्मेदवार र पार्टी घोषणापत्रलाई केही दिनमै टुङ्गो लगाउने बताएका छन् ।  अर्कोतर्फ मधेशी दलहरु पनि निर्वाचनमा पूरै होमिएका छन् । धेरै नेताहरु तराईकेन्द्रित भएपनि केही केन्द्रमै चुनावी रणनीति बनाईरहेका छन् । साना राजनीतिक दलमध्ये केहीले पार्टीको घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने धेरै अहिले त्यसको तयारीमा व्यस्त छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us