तोकिएकै मितिमा निर्वाचन सफल पार्न राष्ट्रपतिको अपिल

काठमाण्डु टुडे २०७० असोज २८ गते ६:१८ मा प्रकाशित

काठमाण्डु, २८ असोज– राष्ट्रपति रामवरण यादवले तोकिएकै मितिमा ४ मंसिरमा सफलतापूर्वक संविधानसभा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।
rambaranराष्ट्रपति भवन शितलनिवासमा सोमबार परोहितका हातबाट टीका ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतान्त्रिक संविधान निर्माणका लागि सबै मिलेर तोकिएकै मितिमा संविधानसभा निर्वाचनमा सफल पार्नुपर्ने दोहोर्‍याएका हुन् ।
राष्ट्रिय कार्यभारका रुपमा रहेको संविधानसभा निर्वाचनलाई उनले महायज्ञको संज्ञा दिए । राष्ट्रपति यादवले संविधानसभारुपी महायज्ञ सफल पार्न सरकार, राजनीतिक दल तथा तीन करोड नेपालीमा अपिल गरे ।
उनले तोकिएकै समयमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएर मुलुकले जनअपेक्षाअनुसारको नयाँ संविधान पाउने विश्वास गरे ।
उनले टीकाको शुभसाइत ९ बजेर ५७ मिनेटमा पुरोहित शंकरप्रसाद सिग्देलको हातबाट टीका ग्रहण गरे । त्यसलगत्तै राष्ट्रपतिले छोरी अनितासहित परिवारिक सदस्य तथा आफन्तलाई टीका लगाए ।
यादवले शीतलनिवासमा दिउँसो १ बजेदेखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us