
काठमाण्डु, २८ असोज– विजया दशमी–२०७० का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद् अध्यक्षलगायत प्रमुख दलका शीर्ष नेताले सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति रामवरण यादवले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । राष्ट्रपति यादवले दसैं सामाजिक र सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम भएकाले विविध भाषा, संस्कृति, परम्परा र भूभागका बासिन्दाबीच भाइचारा, मेलमिलाप तथा सु–सम्बन्ध कायम गर्नसमेत चाडपर्वले अतुलनीय योदगान पुर्याएको विचार व्यक्त गरेका छन् ।
राष्ट्रपतिले शुभकामना सन्देशमा मुलुकमा विद्यमान संकट समाधानको एक मात्र विकल्प निर्वाचन भएकाले सबै मिलेर ४ मंसिरको संविधानसभा निर्वाचन सफल पार्नुपर्ने उल्लेख गरेका छन् । यस्तै उपराष्ट्रपति परमानन्द झाले पनि बडादसैंले सबै नेपालीमा सुख, शान्ति र सम्वृद्धि छाओस भन्ने कामना गरेका छन् । झाले शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान सबै नेपालीको चाहना र देशको आवश्यकता भएकाले मंसिर ४ गते हुने संविधानसभा निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन् ।
दसैंका अवसरमा शुभकामना दिंदै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपाली समाजको सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरण तथा नयाँ नेपाल निर्माणका लागि निर्वाचन इतिहासले प्रदान गरेको विशेष अवसर भएको बताएका छन् । अध्यक्ष रेग्मीले सुखी र खुसी राष्ट्र निर्माणका लागि आगामी निर्वाचन सफल बनाउन समस्त नेपालीमा हार्दिक अपिल गरेका छन् ।
यस्तै विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपालीको भाग्य र भविष्य निर्धारण गर्ने संविधानसभाको निर्वाचन सफल पार्न जनसमुदायमा अपिल गरेका छन् । सन्देशमा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा अग्रगामी र परिवर्तनकारी शक्तिको विजयका लागि निर्णय गर्न विजयादशमी सहयोगी बनोस् भन्ने कामना गरेका छन् । ‘असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा मनाइँदै आएको दसैंले मुलुकमा रहेका सबै असत्य र खराबीहरुमाथि विजय प्राप्त गरी देशमा संविधान निर्माण र समृद्धि स्थापना गर्ने प्रेरणा मिल्नेछ’, सन्देशमा प्रचण्डले भनेका छन् ।
कांग्रेस सभापति सुशील कोइरालाले दसैंका अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी–बहिनीमा शुभकामना दिंदै अन्यायमाथि न्याय तथा असत्यमाथि सत्यको विजयको सन्देश दिने दसैंलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको स्मरण गरेका छन् ।
यस्तै विजयादशमीका अवसरमा शुभकामना दिँदै एमाले अध्यक्ष झलनाथ खनालले सबै नेपालीमा सुख, शान्ति र सम्वृद्धिको कामना गरेका छन् । दसैंका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विज्ञप्ति जारी गर्दै सबैतिर, सबैबाट समान आस्थाका साथ मनाइने बडादसैं राष्ट्रिय एकता एवम् सामाजिक सामञ्जस्यताको अभिवृद्धि गर्ने पर्वका रुपमा रहोस् भन्ने कामना गर्नुभएको छ ।
यस्तै काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, सद्भावना अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीलगायतका नेताहरुले विजया दशमीले सबैमा सुख, शान्ति र सम्वृद्धि छाओस् भनी शुभकामना दिएका छन् ।