आज विजयादशमी, मान्यजनबाट टीका र जमरा लगाउन सुरु

काठमाण्डु टुडे २०७० असोज २८ गते ०:३८ मा प्रकाशित

काठमाण्डु, २८ असोज– नेपालीहरुको महान् चाड वडादसैँको दशौँ दिन आज आफ्ना मान्यजनका हातबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदैछ ।

tika jamaraटीकाको उत्तम साइत बिहान ९ बजेर ५७ मिनेटमा रहे पनि दिनभर नै टीका लगाउन सकिने नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

विजया दशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरा प्रयोग गरिन्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजा अर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।

आजका दिन परिवारमा बाजेबज्यै, बाबुआमा, गुरपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us