
काठमाण्डु, २६ असोज– अर्थमन्त्री शंकर कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषलाई नेपालमा आवासीय कार्यालय खोल्न आग्रह गरेका छन् ।
मुद्राकोषका उपमहानिर्देशक नायोकी सिनोहारासँग मुद्रा कोषको मुख्यालय वासिङटन डिसीमा भएको भेटमा कोइरालाले नेपालको अर्थतन्त्र सुदृढ बनाउन मुद्राकोषको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
अर्थमन्त्री कोइरालाले डलरको उतारचढाव हुँदा नेपालको अर्थतन्त्रमा परेको प्रभावका विषयमा मुद्राकोषका अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए । जवाफमा विश्व बैंकका उपमहानिर्देशक शिनोहाराले नेपालको आथिर्क विकासको क्षेत्रमा मुद्राकोषले प्राविधिक सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन् ।
भेटमा अर्थ सचिव शान्तराज सुवेदी, अमेरिकाका लागि नेपाली राजदूत शंकर शर्मा, अर्थ मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख मधु मरासिनी र राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्ले पनि सहभागी थिए ।
यसैबीच अर्थमन्त्री कोइराला विश्व बैंक समूह र मुद्रा कोषको संयुक्त बैठकमा सहभागी भए । बैठकमा विश्व बैंकका तर्फबाट डा. जिमयोङ किङले गरिबी न्यूनिकरणका लागि आगामी दिनमा बैंकले गर्ने कार्यक्रमका विषयमा बोलेका थिए ।