तेह्रथुम सदरमुकाममा भीषण आगलागी

काठमाण्डु टुडे २०७० असोज २७ गते ११:१२ मा प्रकाशित

तेह्रथुम, २७ असोज– तेह्रथुम सदरमुकाम म्याङलुङ बजार र आठराइमा भीषण आगलागी भएको छ ।

गएराति भएको आगलागीका कारण म्याङलुङमा स्थानीयका आठ घर र ११ पसल जलेर नष्ट भएका छन् । आगलागीमा म्याङलुङका चिरञ्जिवीमान श्रेष्ठका पाँच वटा तथा जयप्रसाद ढकाल र रघुनाथ श्रेष्ठको एकएक वटा घर जलेको हो ।
कपडा, इलेक्ट्रोनिक्स, भाँडा, कस्मेटिक, फेन्सी तथा होटल र दूध डेरी गरी ११ पसल जलेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । आगलागी नियन्त्रणका क्रममा सुरक्षाकर्मीले स्थानीय नगेन्द्र तिमल्सिनाको घर भत्काएका छन् ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । क्षतिको विवरण संकलनकार्य जारी रहेको तेह्रथुम प्रहरी प्रमुख नायव उपरीक्षक उमाशंकर पञ्यिारले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका आधारमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

क्षितिज राईको फेन्सी पसलबाट राति १ बजेतिर सुरु भएको आगलागी नेपाली सेनाm प्रहरी सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।
उता तेह्रथुमकै आठराइ छातेढुंगामा भएको आगलागीमा ३ घर जलेर नष्ट भएका छन् । आगलागीमा स्थानीय अरुण कन्दङवा, प्रह्लाद उप्रेती र खगेन्द्र तामाङको घर नष्ट भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us