बडादशैंअन्तर्गत आज महानवमी

काठमाण्डु टुडे २०७० असोज २७ गते ०:२८ मा प्रकाशित

काठमाण्डु, २७ असोज– बडादसैँको नवौँ दिन आज शक्तिस्वरुपा दुर्गा भवानीको नवौं शक्ति मानिने महासिद्धिदात्री भगवतीको पूजा आराधना गरिंदैछ ।
घटस्थापनाका दिन आ–आफ्ना घर तथा दसैं घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाउने चलन छ ।

Durga puja (2)_20111005090544यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत देशका विभिन्न देवी मिन्दर र शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र सप्तशती पाठ गरिन्छ ।
शाकाहारीहरले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल तथा पायस चढाउने प्रचलन छ । अधिकांश ठाउँमा महाष्टमीका दिन दसैँघरमा बलि दिने र महानवमीको दिन मार हान्ने प्रचलन रहेको छ ।

पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि चढाइन्छ ।

यस पर्वमा कोतहरमा हर्ष बढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरमा बाजागाजासहित बलि दिएर जङगी निशानपूजा तथा कोतपूजा गर्ने प्रचलन छ । आज दशैंघरमा वर्षभरि प्रयोग हुने हातहतियार, औजार र मेसिन राखेर पूजा गरिंदै छ ।

महानवमीकै अवसरमा आज आ–आफ्ना सवारी साधनको पूजा गरियो । सवारी साधन चलाउँदा दुर्घटना नहोस् र आफ्नो रक्षाका लागि बली चडाई पूजा आजा गर्ने र आज दिनभर थन्काउने चलन छ ।
हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आजका दिन मात्र खोलिन्छ । गएराति काठमाण्डु हनुमानढोकाको दशैंघरमा शक्तिरुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्षबढाईं गरिनुका साथै ५४ राँगा र ५४ बोकाको बली दिई कालरात्री मनाइयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us