
गोरखा, २६ असोज– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले संविधानसभा निर्वाचन बिथोल्न खोज्ने शक्ति प्रतिक्रान्तिको पक्षमा रहेको बताएका छन् ।
दसैंको अवसरमा चुनावी प्रचार–प्रसारका लागि गृहजिल्ला गोरखा पुगेका उनले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिक्रान्तिकारीलाई फाइदा पुग्ने गरी चुनाव बहिस्कार नगर्न निर्वाचन प्रक्रियामा असहमत दललाई आग्रह गरे ।
उनको संकेत निर्वाचन बहिस्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीतर्फ थियो । उनले लोकतन्त्रमा निर्वाचनमा भाग लिने र बहिस्कार गर्ने दुवै अधिकार हुने भए पनि मतदाताको मतदान गर्ने अधिकारको भने सबैले सम्मान गर्नुपर्ने उल्लेख गरे ।
४ मंसिरमा परम्परागत संसदीय निर्वाचन नभर्य संविधानसभा निर्वाचन हुने भएकाले कोही पनि त्यसबाट पछि हट्न नमिल्ने टिपप्णी भट्टराईले गरे ।
जनताले आफ्नो संविधान आफैं बनाउन हुन लागेको निर्वाचन बहिस्कार गरेर कसैलाई फाइदा नुहने उनको स्पष्टोक्ति छ ।
उनले निर्वाचन बहिस्कार गर्नेलाई जनता आफैंले बहिस्कार गर्ने चेतावनीसमेत दिए ।