काठमाण्डु उपत्यका सुनसान, ३० लाख बाहिरिए

काठमाण्डु टुडे २०७० असोज २६ गते ३:२९ मा प्रकाशित

काठमाण्डु, २६ असोज–मानिसहरु दसैं मान्न बाहिरिएपछि काठमाण्डु उपत्यकाको चहलपहल ह्वात्तै घटेको छ ।
शुक्रबार साँझसम्ममा सार्वजनिक यातायातका साधनबाट मात्र २८ लाख मानिस दसैं मान्न उपत्यकाबाट घर गएको यातायात व्यवसायीले जनाएका छन् । व्यवसायीका अनुसार शनिबार डेढ लाख यात्रुले घर जान अग्रिम टिकट लिएका छन् ।

दसैं मान्न राजधानीमा रहेका कर्मचारी, विद्यार्थी, व्यवसायी तथा राजनीतिक दलका नेता–कार्यकर्ता ठूलो संख्यामा घर गएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाका अनुसार काठमाण्डुका नागढुगा, बल्खु, कोटेश्वर र पासाङ ल्हामु राजमार्गको मुड्खु ढोकाबाट असोज १ गतेदेखि मानिसहरु बाहिरिन थालेका थिए । उनले टीकाको दिनसम्म पनि मानिसहरुले घर जान टिकट लिएको बताए ।

संविधानसभा निर्वाचनका कारण दलका नेता कार्यकर्ता गाउँ गएकाले पनि यसपटक गत वर्षको तुलनामा राजधानी छाड्नेको संख्या बढेको महासंघले जनाएको छ । कोषाध्यक्ष सिटौलाले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै दसैंपछि काठमाडौं फर्कनका लागिसमेत देशभर अग्रिम टिकट बुकिङ खुला गरिसकिएको जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंका बढी चाप हुने बसपार्क, कलंकी, न्यूरोड, कोटेश्वरलगायत स्थानमा यात्रु र मानिसहरुको कम चहलपहल रहेको जनाएको छ । बजार प्राय: बन्द रहेका कारण किनमेलका लागि जमघट हुने स्थानहरु समेत सुनसान बनेका छन् ।

उपत्यकाका सडकमा न्यून संख्यामा मोटरसाइकल, ट्याक्सी र भाडाका गाडी चलेका छन् । प्रहरी र ट्राफिक दसैंको समयमा दुर्घटना र चोरीडकैती नियन्त्रणका लागि चेकजाँच कडा पारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us