नवलपरासी र काठमाण्डुमा भएका दुर्घटनामा तीनको मृत्यु

काठमाण्डु टुडे २०७० असोज २६ गते २:५९ मा प्रकाशित

काठमाण्डु, २६ असोज– नवलपरासी र काठमाण्डुमा भएका तीन छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
ना ३ ख ६९ ९५ नम्बरको बसले नवलपरासीको रजहरमा पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । यस्तै पूर्वपश्चिम राजमार्गको अमरापुरी–७ मा नम्बर नखुलेको गाडीको ठक्करबाट रिक्साचालक नवलपरासी अमरापुरी–४ का कृष्णबहादुर मगरको मृत्यु भएको हो ।
रिक्सामा सवार मृतकी श्रीमती रेण्ुाका मगर, अर्खला–४ का सुखबहादुर सारु र दुर्गा मगर घाइते भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको छ । यस्तै राजधानीमा गएराति भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
काठमाण्डुको सामाखुसीमा बा २ च ३८ ६४ नम्बरको कार दुर्घटना हुँदा स्याङजाका ४३ वर्षीया डिमु कुँवरको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा काठमाडौं धापासीका २८ वर्षीय नवराज केसी र दोलखाका २२ वर्षीय रोहित कार्की गम्भीर घाइते भएका छन् । घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । प्रहरीका अनुसार तीव्र गतिमा रहेको कार अनियन्त्रित भई सडक किनारामा रहेको रुखमा ठोक्किएर दुर्घटना भएको हो । उता महोत्तरीको माइस्थानमा बस पल्टँदा २२ जना घाइते भएका छन् ।
काठमाण्डुबाट उदयपुरका लागि छुटेको ना २ ख २८६२ नम्बरको बस पछाडि पट्टिको दुईओटै चक्का पञ्चर भएपछि दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । दुर्घटनामा घाइते भएकाको बदिर्वासका विभिन्न अस्पतालमा उपचार भइहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us