बडादसैंको आठौं दिन आज महाअष्ठमी पर्व मनाइंदै

काठमाण्डु टुडे २०७० असोज २६ गते ०:३७ मा प्रकाशित

काठमाण्डु, २६ असोज– बडादसैँको आठौँ दिन आज नेपालभर दुर्गाभवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदैछ ।

durgaयस उपलक्ष्यमा दसैँघर र कोतलगायत मुलुकका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ । काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिमा बलि चढाउने र पूजाआराधना गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।
यसैगरी गोरखाको मनकामना, नवलपरासीको दाउन्ने, वीरगन्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा, नुवाकोटको भैरवीलगायतका मन्दिरमा पनि शक्तिस्वरुपा भगवतीको पूजाअर्चनाका लागि श्रद्धालुको भिड लागेको छ ।

महाअष्टमीका दिन दसैँघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नुका साथै कलपुर्जा, हातहतियार र सवारीसाधन सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।

पशुबलि नचढाउनेहर पनि आजको दिन जमराकोठामा घिरौंला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गाभवानीलाई खिर तथा नरिवल चढाउने गर्दछन् ।

हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरुपिणी दुर्गाभवानीको पूजाअर्चना र हर्षबढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us