संविधानमा जनप्रतिनिधि फिर्ता बोलाउने व्यवस्था गर्न एमाओवादीको प्रस्ताव

काठमाण्डु टुडे २०७० असोज २५ गते ७:२२ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, २५ असोज–एकीकृत नेकपा माओवादीले आगामी संविधानमा जननिर्वाचित प्रतिनिधिलाई जनताले फिर्ता बोलाउन सक्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सार्ने भएको छ । लोकतन्त्रको दिगो विकास र स्थायित्वका लागि चुनावी घोषणापत्रमा त्यस्तो व्यवस्था गर्ने एमाओवादीको भनाइ छ ।

क्रान्तिकारी पत्रकार संघ मोरङले दशैं तथा तिहारका अवसरमा शुक्रबार विराटनगरमा गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा एमाओवादी नेता वर्षमान पुनले आफ्नो गल्ती गर्नेलाई जनताले हटाउन नसक्ने व्यवस्थाले लोकतन्त्र कमजोर हुने र जनप्रतिनिधि जनताप्रति उत्तरदायी नहुने भएकाले त्यस्तो व्यवस्था आवश्यक रहेको बताए ।

उनले आफ्नो पार्टीले निर्वाचनमा प्रगतिशील राष्ट्रवादको नारालाई मुख्य चुनावी नारा बनाउन लागेको पनि जानकारी दिए । उनले समावेशी लोकतन्त्र, सामाजिक न्यायसहितको आर्थिक समृद्धि, पहिचानसहितको संघीयता र प्रगतिशिल राष्ट्रवादको नारा समेटिएको चुनावी घोषणपत्र दसैंलगत्तै सार्वजनिक गर्ने जानकारी दिए ।

कार्यक्रममा एकीकृत माओवादीका अर्का नेता तथा झापा–७ का उम्मेदवार गोपाल किराँतीले परिवर्तन पक्षधरको जित नभए राजतन्त्र फर्कने खतरा रहेको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us