एमाओवादी नेतामाथि वैद्य माओवादीको आक्रमण

काठमाण्डु टुडे २०७० असोज २५ गते ६:४२ मा प्रकाशित

बेनी, २५ असोज– मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताको आक्रमणमा एकीकृत नेकपा माओवादीका उम्मेदवारसहित दुईजना घाइते भएका छन् । चुनावी प्रचारका क्रममा म्याग्दीको बिम गाविस पुगेको एमाओवादी टोलीमाथि वैद्य माओवादीको लडाकु दस्ता जनस्वयम् सेवक ब्युरोका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

bkआक्रमणमा एमाओवादीका समानुपातिक उम्मेदवारसमेत रहेका मगरात राज्य समिति सदस्य पुस्कर विश्वकर्मा र अखिल क्रान्तिकारीका जिल्ला सदस्य ईश्वर सुवेदी घाइते भएको म्याग्दी प्रहरीले जनाएको छ । सरकारले उम्मेदवारको सुरक्षाका लागि विशेष सुरक्षा योजना लागू गरेका बताइरहेका बेला उम्मेदवारमाथि नै आक्रमण भएको हो ।

घाइतेको जिल्ला अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका नायव उपरीक्षक कृष्ण पल्लीले करिब २० जनाको समूहमा आएका व्यक्तिहरुले धारिलो हतियारबाट आक्रमण गरेको बताए । उनले आक्रमणकारीको खोजी जारी रहेको र छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाए ।

आक्रमणको समयमा एकीकृत माओवादी म्याग्दीका प्रत्यक्षतर्फका उम्मेदवार एवम् मगरात राज्य समिति इन्चार्ज लोकेन्द्र विष्टमगर घटनास्थल नजिकै थिए । आक्रमणकारीले उनको खोजी गरे पनि स्थानीयले उनका बारे सूचना नदिएपछि आक्रमणबाट जोगिएका थिए ।

यसैबीच वैद्य माओवादीले भने घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दाबी गरेको छ । वैद्य माओवादीका म्याग्दी इन्चार्ज गमबहादुर श्रीसले आफ्नो पार्टीको कसैमाथि सांघातीक आक्रमण गर्ने नीति नरहेको बताए । उनले जनस्तरबाटै एमाओवादीको प्रतिकार भएको सूचना आफूले पनि पाएको जिकिर गरे ।

वैद्य माओवादीले आगामी मंसिर चार गतेको चुनाव बहिस्कार घोषणा गरेको छ । माओवादी अध्यक्ष मोहन वैद्यले विहीबार दाङको लमहीमा पत्रकार सम्मेलन गरी आगामी चुनाव शान्तिपूर्ण रुपमा बहिस्कार गर्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us