कतै दशैंको चहलपहल कतै भूत मेला

काठमाण्डु टुडे २०७० असोज २५ गते ६:२४ मा प्रकाशित

महोत्तरी, २५ असोज-देशभर दशैंको रौनक चलिरहँदा महोत्तरीको सोनामाई शक्तिपीठमा भने आजदेखि भूत मेला सुरु भएको छ । सोनामाई गाविस ४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । यहाँ हरेक वर्ष बडादसैँमा भूतमेला लाग्ने गर्दछ ।

बडादशैंको सप्तमीदेखि विजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौं भूतपीडितका साथै दर्शनार्थीको भीड लाग्ने गर्दछ । भूत प्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौं पीडितहरू प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास रहेको छ ।

वर्षौंदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरू सोनामाईको सीमा क्षेत्रमा आउनेबित्तिकै को कसबाट सताइएको भन्नेबारे आफैं भन्न थाल्छन् भने देवीको शक्तिले सीमा क्षेत्रमा खुट्टा टेक्ने बित्तिकै लड्दै पड्दै, रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछन् । दरबारमा पुगेका पीडितहरू माताको दृष्टिपरेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको पुजारी नवल झा बताउँछन् ।

यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका विभिन्न भाग र भारतको पटना सहरसम्मका हजारौं महिला तथा पुरुष पुग्ने गर्दछन् । सोनामाई शक्तिपीठमा दर्जनौं धामी झाँक्री रातदिन भजन कीर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् ।

माताको दरबारमा एकपटक पुग्ने पीडित व्यक्तिको शरीरमा जीवनमा फेरि कहिल्यै भूतप्रेत र बोक्साबोक्सीको शक्ति नलाग्ने विश्वास जनमानसमा रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us