बालश्रमिकका अभिभावकलाई आयआर्जनका सामग्री

काठमाण्डु टुडे २०७० असोज २५ गते ३:१२ मा प्रकाशित

नेपालगन्ज, २५ असोज–नेपालगन्ज नगरपालिकामा कार्यरत बालश्रमिकका अभिभावकलाई आयआर्जन कार्यक्रम सञ्चालनका लागि एक लाख ४४ हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको छ । आयस्रोतको अभावमा आफ्ना बालबालिकालाई विद्यालय नपठाई श्रममा लगाउने परिवारका अभिभावकलाई रोजगार सञ्चालन गरी आफ्ना सन्तानलाई विद्यालय पठाउने उद्देश्यका साथ ती सामग्री उपलब्ध गराइएको हो ।

नेपालगन्ज नगरपालिका र युनिसेफको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालित बालमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत १८ परिवारलाई किराना, पान र फलफूल पसल सञ्चालनका लागि प्रतिपरिवार रु आठ हजार बराबरको सामान उपलब्ध गराइएको हो । व्यवसाय सञ्चालनका लागि सामग्री दिइएका अभिभावकले अब उप्रान्त आफ्ना बालबालिकालाई श्रमबाट विस्थापित गरी विद्यालय पठाउनुपर्ने प्रावधान राखिएको छ ।

यसअघि क्लबले जिल्लाका १५६ बालश्रमिक परिवारलाई रु १२ लाख ४८ हजार बराबरको सामग्री उपलब्ध गराएको थियो । जिल्ला बाल कल्याण समितिको तथ्याङ्कअनुसार, यस जिल्लामा हाल ७०० भन्दा बढी बालश्रमिक होटल, ग्यारेज, यातायातका साधन र घरमा कार्यरत रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us