दुई समूहबीच झडप, चारजना गम्भीर

काठमाण्डु टुडे २०७० असोज २५ गते ३:०८ मा प्रकाशित

पर्वत, २५ असोज-पर्वतको भोर्ले गाविसमा दुई समूहबीच बिहीबार साँझ झडप भएको छ । झडपमा चारजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेहरुमा सरौखोला गाविसका भद्रबहादुर गुरुङ र रमेश आले तथा भोर्ले गाविसका सन्तबहादुर गुरुङ र मदन गुरुङ रहेका छन् । उनीहरुको स्याङ्जाको वालिङस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक जगतवन्धु पोखरेलले जानकारी दिए । घाइतेहरुको टाउको र हातमा गम्भीर चोट लागेको छ ।

पोखरेलका अनुसार भलिबल खेल्दै गर्दा दुवै समूहबीच विवाद भएपछि झडप भएको थियो । झडपका क्रममा कुटपिट गर्ने स्थानीय खेम गुरुङसहितका चारजनालाई इलाका प्रहरी कार्यालय हुवासले पक्राउ गरेको छ । घटनास्थल सदरमुकाम कुश्माबजारदेखि करिब ६० किलोमिटर टाढा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us