भेडाच्याङ्ग्राको अभावले खसीबोकाको मूल्य बढ्यो

काठमाण्डु टुडे २०७० असोज २५ गते २:०३ मा प्रकाशित

नुवाकोट, २५ असोज–यो वर्ष तिब्बतबाट रसुवागढी नाका हुँदै नुवाकोट र रसुवामा भेडाच्याङ्ग्रा कम भित्रिएका कारण खसीको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन् । वर्षदिनको सबैभन्दा ठूलो चाड दशैं मनाउनै पर्ने भएकाले पनि उपभोक्ताहरु महँगोमा खसी खरिद गरेर भए पनि दसैँलाई उल्लासमय बनाउने तयारीमा लागेका छन् ।

गाउँघरमा पालिएका खसी बोकाको मूल्यमा गत वर्षको तुलनामा प्रतिकिलो रु १०० देखि रु १२० सम्म वृद्धि भएपछि नुवाकोटका उपभोक्ताको यस वर्षको दसैँं महँगो बन्ने भएको छ । गत वर्ष जिउँदो खसी प्रतिकिलो रु ३०० मा बिक्री भएकामा यो वर्ष प्रतिकिलो रु ४०० देखि रु ४२० सम्म परेको रातमाटेका एक उपभोक्ता विष्णुप्रसाद ढकालले बताए ।

रसुवागढी नाका हँुदै आउने भेडाच्याङ्ग्रा यो वर्ष पनि पर्याप्त नआएपछि भेडाच्याङ्ग्रा खरिद गर्ने योजनामा रहेका उपभोक्तासमेत खसी खोज्न गाउँ पसेका छन् । यसले गर्दा अष्टमीको दिनसम्म खसीको भाउ अझै बढ्न सक्ने उपभोक्ताले अनुमान गरेका छन् । रसुवागढी नाकाबाट भित्रिने भेडाच्याङ्ग्रा नुवाकोट हुँदै राजधानीसम्म पुग्ने गरेकामा यो वर्ष अति न्यून सङ्ख्यामा भेडाच्याङ्ग्रा नेपाल भित्रिएपछि खसीको माग बढेको हो । यो वर्ष यहाँबाट च्याङ्ग्रा ४० र भेडा १६४ वटा मात्र नेपाल भित्रिएको छ । आएको भेडाच्याङ्ग्रा पनि गत वर्षको तुलनामा भारी महँगो भएपछि आफ्नो मन पनि खसीतिर ढल्किएको तुप्चेमा खसी किन्न पुगेका बट्टारका सन्तोष श्रेष्ठको भनाइ छ ।

डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा भेडाच्याङ्ग्राको भाउ आकासिएको हो । गत वर्ष जिउँदो भेडाच्याङ्ग्रा प्रतिकिलो रु ७०० देखि रु ८०० सम्म भएकामा यो वर्ष प्रतिकिलो रु एक हजार १०० बाट पनि उकालो लागेको छ । तिब्बतीहरुले भेडाच्याङ्ग्राको तौल जोखेर बेच्नेभन्दा पनि टाउको गनेर एउटै मूल्यमा बेच्ने भएकाले नेपाल आइपुग्दा एउटाको नै रु २० हजारभन्दा बढी मूल्य पर्ने व्यापारीहरुको भनाइ छ ।

दशैं तिहारका लागि चाहिने भेडाच्याङग्रा महँगो भएको जानकारी आउन थालेपछि सात वर्षदेखि लगातार भेडाच्याङ्ग्राको मासु प्रयोग गर्दै आएका खानीगाउँका अच्यूत पाण्डेले यसपटक गाउँमै खसीको जोहो गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us