
बाँके, २५ असोज–यसपालिको बाढीले बाँकेमा सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ । बाढीले ३३५ हेक्टरमा रोपेको धानबाली नोक्सान गरेको जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ । बाढीले ३५ हेक्टरमा रोपेको धान कटान गरेको छ भने ९३ हेक्टर जमिनमा रोपेको धान पटान गरेको छ । कृषि विकास कार्यालय बाँकेका प्रमुख राजेन्द्र प्रधानका अनुसार १११ हेक्टर क्षेत्रफलमा रोपेको छरुवा धानबाली पनि बाढीले बगाएको छ ।
यस्तै बाढीले तीस हेक्टरमा छरेको धानको ब्याडमा क्षति पुगेको र ६७ हेक्टरमा रोपेको मकै सखाप गरेको छ। कृषि विकास कार्यालयका अनुसार ६ हेक्टरमा रहेको मास, ६ हेक्टरमा रोपेको तरकारी र साढे ६ हेक्टरमा लगाइएको घाँस पनि यसपालिको बाढीले नोक्सान गरेको छ । प्रमुख प्रधानले भने, ‘बाढीले खाद्य उत्पादनमा पुर्याएको क्षतिलाई मध्यनजर गरी कृषि विकास कार्यालयले ४६ लाख रुपैयाँको राहत प्याकेज बनाएको छ ।’
कृषि पेसा जोखिमपूर्ण पेसा भएको बताउँदै उनले किसानलाई राहत दिन सरकारले विशेष प्याकेज ल्याएको स्पष्ट पारे । कृषि क्षेत्रको क्षति न्यूनीकरण गर्न सरकारले कृषि बिमा नीति ल्याएको पनि उनले जानकारी गराए । यस आर्थिक वर्षका लागि सरकारले १३ करोड ५० लाख बिमाका लागि रकम विनियोजन गरेको छ ।