तुलसीपुर (दाङ), असोज–संसदीय व्यवस्था ध्वस्त पारी नयाँ जनवादी गणतन्त्रका लागि लडदै आएका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई अहिले संसदीय व्यवस्था ध्वस्त हुन थालेकोमा चिन्ता लाग्न थालेको छ । चार दलिय गठबन्धनले नेपालको संसदीय व्यवस्था ध्वस्त पारेको आरोप लगाउँदै अध्यक्ष बैद्यले नयाँ राजनीतिक सहमति बिना मुलुकको समस्या समाधान हुन नसक्ने बताए ।
दाङको लमहीमा पश्चिम कमाण्डको बैठकपछि बिहिवार आयोजित छलफल कार्यक्रममा वैद्यले यसमा चार दलीय सिन्डिकेट चुकेको पनि बताए । नेपालमा संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै बैद्यले नेकपा– माओवादीसहित ३३ दललाई किनारामा राखेर समस्याको समाधान नगरी जबर्जस्ती गर्न थालेको निर्वाचनले नयाँ संविधान नबन्ने दाबी पनि गरे ।
एक फरक प्रसङ्गमा बैद्यले एकीकृत नेकपा (माओवादी)ले चुनावमा आउँछ भनेर हल्ला फैलाउनु दुस्प्रचार मात्र भएको पनि बताए । चार दलीय संयन्त्रले वार्ता भङ्ग गरेको चर्चा गर्दै बैद्यले अब आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाएर अगाडि बढाउन आफ्नो पार्टीले देशव्यापीरूपमा छलफलको आयोजना गरेको बताए । निर्वाचन बहिष्कारको कार्यक्रमलाई शान्तिपूर्णरूपमा अगाडि लैजाने पनि उनले जानकारी दिए ।
काठमाण्डु,पूर्वाञ्चलको इटहरीमा छलफल कार्यक्रम सम्पन्न गरिसकेको नेकपा– माओवादीले बिहिवार दाङको लमहीमा थारुवान, सेती–महाकाली, भेरी–कर्णाली, मगरात र अवध राज्य समितिका केन्द्रीय सदस्यको संयुक्त बैठक राखेको थियो ।