विधिपूर्वक घर-घरमा फूलपाती भित्राइयो

काठमाण्डु टुडे २०७० असोज २५ गते ३:१० मा प्रकाशित

काठमाण्डु, २५ असोज–दशैंको सातौं दिन शुक्रबार परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाइएको छ । उँखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राउने चलन छ ।

काठमाण्डुको हनुमानढोकास्थित दशैंघरमा बिहान ९ बजेर ३१ मिनेटको साइतमा फूलपाती भित्राइएको छ । गोर्खाबाट पुजारी सहित हर्षबढाईंकासाथ फूलपाती हनुमानढोका ल्याइएको थियो । सो अवसरमा गुरुजुको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामति सेवाका उच्चपदस्थ अधिकारी, आशागुर्जा टोली, पन्चैबाजा, ब्यान्डबाजा तथा साँस्कृतिक झाँकी सहितको र्याली हनुमानढोकाबाट पुगेको थियो । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका छजनाले र त्यहाँबाट काठमाण्डुको जमलसम्म छजना ब्राम्हणले ल्याउने चलन छ ।

फूलपातीको अवसरमा नेपाली सेनाले काठमाण्डुको टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ ।

घटस्थापनाका दिनदेखि दशैं सुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीको दिनदेखि शुरु हुन्छ । फूलपातीदेखि पूर्णिमासम्म दशैंको सार्बजनिक विदा हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरू मूलघरमा दशैंको टीका थाप्न जाने क्रम बढेको छ ।

गाउँघरमा फूलपातीका दिन चोक, मठमन्दिर, पाटी, सत्तल सफासुग्घर गर्ने र रमाइलोका लागि लिङ्गे र रोटेपिङ निर्माण गर्न गरिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us