
काठमाण्डु, २४ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको ठूलो त्यागपछि मात्र दोस्रो संविधानसभा निर्वाचन सुनिश्चित भएको दाबी गरेका छन् ।
पार्टी सम्वद्ध सोलु–काठमाण्डु संघीय जनसम्पर्क मञ्चले दसैंका अवसरमा बिहीबार राजधानीमा गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले निर्वाचनकै लागि बाबुराम भट्टराई नेतृत्वको जननिर्वाचित सरकार छाडिएको बताए ।
उनले काँग्रेस–एमालेलगायतका दल कहिल्यै संविधानसभा निर्वाचनका पक्षमा नरहेको र आफ्नो पार्टीको एजेण्डाको पछि लागेको आरोप लगाए । ‘संविधानसभा हाम्रो एजेण्डा हो’, प्रचण्डले भने, ‘काँग्रेस–एमालेले रहरले नभई बाध्यताले संविधानसभा स्वीकारेका हुन् ।’ उनले काँग्रेस–एमालेले उत्पीडित वर्ग, क्षेत्र र लिंगका जनतालाई अधिकार दिन नचाहेकाले पहिलो संविधानसभाबाट संविधान बन्न नसकेको दोहोर्याए ।
काँग्रेस–एमालेले २०४७ सालकै संविधान ब्युताउँने कोसिस गरिरहेकाले उनीहरुलाई मत नदिन प्रचण्डले मतदातालाई अपिल गरे । पूरानो शासक वर्ग र सामन्तहरुले चलाएका केही मिडियाले माओवादीविरुद्ध प्रचारबाजी गरेर लुटको स्वर्ग बचाउन खोजिरहेको टिप्पणी प्रचण्डले गरे । उनले जनपक्षीय संविधान निर्माणका लागि एकीकृत माओवादीको जित अनिवार्य रहेको जिकिर गरे ।