कोइरालाले आफ्नै कार्यकर्तालाई भने, ‘प्रजातन्त्र विरोधी’

काठमाण्डु टुडे २०७० असोज २४ गते ५:५८ मा प्रकाशित

Sushil_koiralaचितवन, २४ असोज– नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले समानुपातिक ढंगबाट उम्मेदवारी बाँडफाँड गर्नुपरेकाले आकांक्षीमध्ये थोरैले मात्र टिकट पाएको बताएका छन् । रिपोर्टर्स क्लब चितवनले विहीबार नारायणगढमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कोईरालाले देश संघियतातर्फ गएकाले सबै जातजाती, धर्म, लिङ्ग र वर्ग विशेषलाई समेट्नु परेकाले धरै आकांक्षीको चित्त बुझाउन नसकिएको प्रष्ट पारे ।

चितवन क्षेत्रनम्बर ४ मा विकास कोइरालाले वागी उम्मेदवारी दिएको सन्दर्भमा पत्रकारले राखेको प्रश्नमा उनले ‘बाहुन क्षेत्रीले जम्मा ५० क्षेत्र पाउँछन् कसरी सबैको चित्त बुझ्छ ?’ भनेर प्रतिप्रश्न गरे । विद्रोही उम्मेदवारलाई पार्टीले निश्काशित गरेको बताउँदै उनले अझैपनि सच्चिन वागी उम्मेदवारलाई आग्रह गरे । ‘विद्रोही भएर उठेकाहरुलाई जनताले हेर्ने दृष्टिकोण फरक हुन्छ,’ उनले भने, ‘अझै पनि समय छ सच्चिनकालागि ।’ प्रजातन्त्रको मूल्य र मान्यता कायम राखेर पार्टीलाई सहयोग पुर्‍याउन आफ्नो वागी उम्मेदवार विकासलाई सभापति कोईरालाको आग्रह थियो । काँग्रेसको विजयी नचाहने प्रजातन्त्रको विपक्षमा रहेको उनले आरोप लगाए ।

लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई आत्मसाथ गरेर अघि बढ्न सके देशमा नयाँ संविधान र सँगै देश आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने कोईरालाको भनाई थियो । मुलुकको विकासका लागि गाउँको विकास अपरिहार्य भएको भन्दै उनले गाउँकेन्द्रित विकास पार्टीको पहिलो एजेन्डा भएको बताए । हप्ता दश दिनभित्र नेपाली काँग्रेसको घोषणापत्र सबैको हातहातमा पुग्ने सभापति कोइरालाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us