दिनहुँ १०० नेपाली अन्धोपनको शिकार,आँखा कसरी स्वस्थ राख्ने ?

काठमाण्डु टुडे २०७० असोज २४ गते ३:४२ मा प्रकाशित

Eyeकाठमाण्डु, २४ असोज– ‘सबैकालागि आँखा स्वास्थ्य : आजै आफ्नो आँखा जाँच गराऔं’ भन्ने नाराका साथ विहीबार विश्व दृष्टि दिवस विहीवार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । अन्धोपन र दृष्टिदोषका समस्याबारे सचेतना फैलाउने उद्देश्यले सन् २००४ देखि प्रत्येक बर्ष अक्टुबर महिनाको दोस्रो विहीवार यो दिवस मनाउन थालिएको हो ।

नेपालमा चार लाख भन्दा बढी मानिसको एउटा आँखा दृष्टिविहीन छ । यस्तै दुईलाख वयस्क र ९० हजार बालबालिका न्युन दृष्टिको सममस्याले पीडित छन् । यसैगरी हरेक दिन नेपालमा एकसय भन्दा बढीले दृष्टि गुमाउने गरेको सरकारको तथ्यांक छ ।

मधुमेह, मोतिविन्दू र जलविन्दू अन्धोपनको प्रमुख कारण रहेको चिकीत्सकहरु बताउँछन् । त्यसैले बालकदेखि बृद्धिसम्म सबैले नियमित रुपमा आँखा जाँच गराउनु पर्ने उनीहरुको सुझाव छ । नेपालमा हाल डेढ दर्जन बढी अस्पतालमा आँखाको उपचार हुने गरेको छ । ग्रामिण क्षेत्रमा भने आँखाको सहज उपचार पहुँच पुग्न सकेको छैन । ग्रामिण क्षेत्रमा उपचार पहुँच पुर्याउन आँखा अस्पतालले स्थानीय सरोकारवालाको समन्वयमा पाँच दर्जन सामुदायीक आँखा उपचार केन्द्र सन्चालनमा ल्याएका छन् ।

सन् २०२० सम्ममा विश्वका सबैलाई सामान्य दृष्य क्षमतामा पुर्याउने लक्ष्य राखिएको छ ।

आँखा स्वस्थ राख्ने १० टिप्सहरु

हामी आफ्नो शरीर तन्दुरुस्त राख्नका लागि व्यायाम गर्ने, पौष्टिक आहार सेवन गर्ने, प्रशस्त मात्रामा पानी पिउने आदि  गर्छौं । तर हाम्रो स्वास्थ्यको महत्त्वपूर्ण अंग आँखालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ भने ध्यान पुर्‍याउन सकेका हुँदैनौं । आँखा संवेदनशील र सजिलै संक्रमण हुने अंग हो । यसलाई धूलो, धूवाँ, भाइरस, ब्याक्टेरिया आदिले सजिलै क्षति पुर्‍याउन सक्छ । यसलाई जोगाएर स्वस्थ राख्न हामीले अनेकौं उपाय अपनाउन सक्छौं । यहाँ आँखा जोगाएर स्वस्थ राख्ने मुख्य १० वटा टिप्सहरु दिइएको छ ।

१. नियमित जाँच

कतिपय व्यक्ति यस्ता पनि भेटिन्छन्, जसले कहिल्यै पनि आँखाको जाँच गराएका हुँदैनन् । जब समस्या आर्इपर्छ अनि मात्र उनीहरु आँखा अस्पताल पुग्ने गरेको पाइन्छ । तर बाल्यकालदेखि नै नियमित आँखा जँचाउनु जरुरी हुन्छ । पाँच वर्षुनिका बच्चाहरुमा देखा पर्ने रोगहरु जस्तै- क्रियाशील नभएको आँखा (Lazy Eye), डेढो आँखा (Crossed Eyes) लाई उपचार गरेर निको पार्न सकिन्छ । आँखामा पर्ने प्रभाव हेरेर सोहीअनुसार आँखा जँचाइरहनुपर्छ । भविष्यमा आउन सक्ने खतराबाट सचेत हुनका लागि आँखामा केही नभए पनि २० देखि ३० वर्षम्म कम्तीमा एक पटक र ३० देखि ४० वर्षम्ममा दुइ पटक आँखाको जाँच गराउनुपर्छ ।

आँखाको देख्ने शक्ति पनि उमेरसँगै परिवर्तन भइरहेको हुन्छ । जति उमेर बढ्दै जान्छ त्यति आँखामा समस्या थपिंदै जान्छ । बेलैमा सचेत भए मस्कुलर डिजेनरेसन (Mascular Degeneration, ग्लुकोमा (Glaucoma) जस्ता आँखामा लाग्ने खतरनाक रोग बेलैमा जँचाएर निको पार्न सकिन्छ । ग्लुकोमा भएका व्यक्तिले नियमित जँचाउनुपर्ने हुन्छ । किनभने यो रोग धेरै खतरनाक हुन्छ । जब हामी ४० वर्षकाट्छौं तब मधुमेह, रक्तचाप, मुटुको रोगजस्ता धेरै किसिमका रोग लाग्ने सम्भावना हुन्छ । मधुमेह वंशाणुगत पनि हुन सक्छ । यो रोगले आँखामा धेरै प्रभाव पार्न सक्ने भएकाले ४० वर्षछि नियमित आँखा जँचाइरहनुपर्छ ।
२. उचित चस्माको प्रयोग
चस्माले आँखालाई धूलो, धूवाँ, कीटाणु आदिबाट बचाउने मात्र होइन, यसले आँखामा चोटपटक लाग्न तथा विकिरणबाट पनि जोगाउँछ । घाममा लगाउने चस्मा (Sunglasses) सत प्रतिशत अल्ट्रा भायोलेट ( (UV)विकिरणबाट सुरक्षा दिने खालको हुनुपर्छ । म्याक्युलर डिजेनरेसन नामक पुस्तकका सह-लेखक डा. लाइलाज मोगका अनुसार नीलो तर·अर्न्तर्गत भायोलेट -रातो र नीलो मिसिएको) र नीलो विकिरणले आँखाको रेटिनालाई असर गर्छ । बजारमा व्यापारिक हिसाबमा बिक्री भइरहेका खैरा-खैरा रंगका चश्माले नीलो भायोलेट विकिरण फिल्टर गरी आँखालाई रक्षा गर्छ । बढी चमक आउने स्थान जस्तै- हिउँ, पानीको सतह, घाम लागेको स्थानमा जाँदा यस्ता चस्माको प्रयोगका साथै ह्याटले पनि आँखा जोगाउन सकिन्छ । तर डाक्टरले सिफारिस गरेको चस्मा लगाउने गर्नुपर्छ ।
३. सुरक्षा
कलकारखानामा, मेसिनरी उपकरण चलाउने ठाउँमा, घर बनाउनेजस्ता निर्माणसम्बन्धी कार्य हुने ठाउँमा काम गर्दा साना-साना कणहरु उडेर आँखामा छिर्ने सम्भावना धेरै हुन्छ । त्यस्ता ठाउँमा काम गर्ने व्यक्तिले आँखाको विशेष ध्यान दिनु आवश्यक पर्छ । यस अवस्थामा साधारण किसिमको चस्माको प्रयोग गर्न सकिन्छ । जो व्यक्ति वायरिङ गर्ने काम गर्छ उसले चाहिँ बेग्लै किसिमको कालो चस्माको प्रयोग गर्न आवश्यक छ । सामान्य कार्य जस्तै- कीला ठोक्दा भित्ताको प्लास्टर उडेर आँखामा पर्न सक्छ र सोही कीला उछिट्टएिर पनि आँखामा पर्न सक्छ । त्यसैले सामान्य कुराबाट आँखालाई बचाउन पनि सधैँ सजग रहनुपर्छ ।
४. कन्ट्याक्ट लेन्स
चस्मा वा लेन्स प्रयोग गर्दा पसलेको परामर्शमा होइन कि सम्बन्धित डाक्टरलाई जँचाएर मात्र प्रयोग गर्नुपर्छ । लेन्स लगाउँदा झन् विशेष ध्यान दिनुपर्छ । यसमा लागेको धूलो राम्ररी सफा गरेर मात्र प्रयोग गर्नुपर्छ । कसैले त मुखमा हालेर थुकले लेन्स सफा गर्ने गरेको पाइन्छ । यसरी थुकले सफा गर्दा आँखामा संक्रमण हुने सम्भावना हुन्छ । त्यसैले उचित सामान र उचित तरिकाले लेन्स सफा गर्नुपर्छ । चस्मा त आँखा बाहिर राख्ने भएकोले साधारण किसिमले सफा गरे हुन्छ तर लेन्स आँखाभित्र लगाउने हुनाले यसको सफाइ गर्दा तथा लगाउँदा निकै ध्यान पुर्‍याउनुपर्ने हुन्छ ।

५. आँखाको पोषण
आँखा स्वच्छ र निरोगी राख्न चाहिने पोषण तत्त्वमा भिटामिन ‘ए’ महत्त्वपूर्ण मानिन्छ । जुन तत्त्व गाजरबाट पाउन सकिने हुनाले यसको सेवन आँखाका लागि लाभदायक हुन्छ । भिटामिन ‘ए’ रेटिनाका लागि अति आवश्यक तत्त्व हो । यस्तै बन्दाकोपी, तोरीको साग, पालुङ्गो आदिमा पाइने लुटियन ((LUTION) तत्त्वले मस्कुलर डिजेनरेसन निको हुन्छ । आँखालाई ओमेगा-३ फ्याटी एसिडको पनि जरुरी पर्छ, जुन माछामा पाइन्छ । यसले आँखामा सुख्खापन हुनबाट बचाउँछ ।
६. नेत्ररस
पाको उमेर हुँदै जाँदा आँखा सुक्न सक्ने सम्भावना धेरै हुन्छ । आँसु बनाउने ग्रन्थिले ठीकसँग काम गर्न नसक्नु नै यसको मुख्य कारण हो । यसले आँसु मात्र नभएर आँखामा हुने श्लेष्मा (MUCUS) र तेल (OIL) लाई पनि प्रभाव पार्छ । तेल आँखाको माथिल्लो भागको सानो ग्रन्थिबाट रसाएर आउँछ । जब हामीले आँखा झिम्क्याउँछौं तब ग्रन्थिबाट तेल रसाएर आउँछ । यो तेलले आँखामा आँसु सुक्नबाट बचाउँछ । यदि तेल राम्रोसँग निस्केन भने सबै आँसु बाफ भई उडेर जान्छ, जसले गर्दा आँखा सुक्खा हुन्छ । अनि आँखा खोल्न र बन्द गर्न पनि गाह्रो हुन्छ । ओमेगा-३ फ्याटी एसिडले आँखा रसिलो पारिराख्न मद्दत गर्छ । अधिक हिटर ताप्ने, आगो ताप्ने वा ताप आउने ठाउँमा काम गर्नेहरुको आँखा सुख्खा हुन सक्छ । त्यस्तै एयर कन्डिसनरले पनि आँखा सुख्खा बनाउँछ । तेज गतिको हावा, पंखा, गाडीको एयर कन्डिसनरले पनि आँखा सुख्खा पार्ने गर्छ । त्यसैले आँखा सुख्खा हुन नदिन ताप र हावाबाट सक्दो आँखालाई बचाउनुपर्छ ।
७. धूमपान

 

धूमपान गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा बारम्बार सुने पनि यसका अम्मलीहरुले धूमपान गर्न छोडेको पाइँदैन । धूमपानले फोक्सोको क्यान्सर हुन सक्ने कुरा प्रायः सबैलाई थाहा भएकै कुरा हो तर डाक्टरहरुका अनुसार धूमपानले फोक्सोको क्यान्सर हुनुभन्दा अगाडि नै आँखाको दृष्टिलाई असर गरेको हुन्छ । त्यसैले आँखाका लागि धूमपान त्याग्नुपर्छ ।
८. आँखामा पर्ने दबाब
कम्प्युटरमा लामो समयसम्म काम गर्दा यसको विद्युतीय प्रभाव र एकनासको हेराइले आँखामा दबाब पर्छ । जसले गर्दा आँखाको हेराइ कमजोर हुने, आफैं आँसु झर्ने, आँखा पोल्नेजस्ता समस्या देखा पर्छ । यसबाट बच्न छिन्-छिन्मा कम्प्युटरको स्क्रिनबाट बाहिर हेरेर आँखालाई आराम दिनुपर्छ, समय-समयमा आँखा झिमझिम गर्नुपर्छ । सुख्खा भएमा आँखामा कृत्रिम आँसु पनि लगाउन सकिन्छ । यसले आँखा रसिलो बनाइराख्ने हुनाले सजिलै आँखालाई यताउता घुमाएर हेर्न सकिन्छ ।
९. परिवारबाट थाहा पाउनुपर्ने वंशाणुगत रोग
आँखाको रोग प्रायः वंशाणुगत हुन सक्छ । आफ्ना पूर्वजहरुलाई कुनै आँखाको रोग थियो कि भन्ने कुरा परिवारबाट थाहा पाइराख्नुपर्छ । यदि त्यस्तो रहेछ भने डाक्टरलाई जानकारी दिनुपर्छ । त्यस्तै आँखामा केही गडबड भएको महसुस भएमा आँखा बिग्रिन नपाईकन डाक्टरसँग कुरा गरिहाल्नुपर्छ । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो । त्यसैले परिवारको सहयोगमा बेलैमा आँखा जँचाएर यसमा पुग्न जाने क्षतिलाई कम गर्नुपर्छ ।
१०. स्वस्थ रहने
हरियो तरकारी, माछा आदिबाट आँखालाई चाहिने तत्त्व प्राप्त गर्न सकिन्छ । साथै नियमित व्यायामले शारीरिक प्रणालीहरुको सञ्चालन सुचारु गराई आँखामा पर्ने चाप कम गर्न सकिन्छ । हरियो सागसब्जी तथा व्यायामले मधुमेहका रोगीहरुको आँखा र स्वास्थ्यमा पनि लाभ पुग्छ । समय-समयमा गरिने नियमित जाँचले शरीरमा लागेको रोग छिटो पत्ता लगाउन सकिन्छ । आँखामा केही असर भएको महसुस भएमा तुरुन्त डाक्टरबाट परामर्श लिई उपचारतर्फ लागिहाल्नुपर्छ । सम्पूर्ण शरीर स्वस्थ भएमा आँखा पनि स्वस्थ हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us