

बाँके, २४ असोज– मध्यपश्चिमको प्रमुख ब्यापारीक केन्द्र बाँके जिल्ला दोस्रो संविधानसभा निर्वाचनमय भएको छ । देशको मूल कानुन नयाँ संविधान निर्माणकालागि हुने निर्बाचन मंसिर चार गते नै हुनेमा बाँकेवासी अब भने ढुक्क देखिएका छन् ।
सरकारले निर्वाचन सुरक्षा व्यवस्था बलियो बनाउँदै गएपछि राजनीतिक दलका उम्मेदवार, कार्यकर्तासमेत अहिले जनताको घरदैलोमा निर्वाचन प्रचारप्रसारका लागि पुग्न थालेका छन् । केही समयअघिसम्म निर्वाचन हुँदैन कि भन्ने मनस्थितिमा रहेका आमनागरिक अब निर्वाचनमा ‘भोट’ हाल्न जानुपर्छ भन्ने तयारीमा छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, नेपालगन्ज शिक्षण अस्पतालका उपनिर्देशक डा. पियुस कनौडिया, अधिकारकर्मी भोला महत र पत्रकार महासंघका जिल्ला अध्यक्ष शुक्रऋषि चौलागार्इंको भनाइ छ—‘निर्वाचनप्रति राजनीतिक दलले जनतालाई आश्वस्त गर्न सकेकाले नै निर्वाचनप्रति जनताको उत्साह बढ्दै गएको हो ।’
अर्कोतर्पm केन्द्रबाट राजनीतिक दलका नेताको जिल्ला दौडाहा पनि सुरु भएको छ । उनीहरुले निर्वाचनका विषयमा घरदैलो, नागरिक समाजसँग छलफल र समुदायसँगको भेटघाट कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेका छ । नेकपा—माओवादीले निर्वाचन बहिष्कार गरेकामा बाँकेवासीको पनि चित्त बुझेको छैन । उनीहरु सबै दलले निर्वाचनमा भाग लिनुपर्छ अनि सहमतिबाटै संविधान निर्माण गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।
प्रजातन्त्रको मेरुदण्ड मानिने निर्वाचनप्रति आमनेपाली जनता मन, वचन र कर्मले प्रतिबद्ध देखिएका छन्, तर उनीहरु प्रश्न गर्छन्—‘निर्वाचनपछि दलले साँच्चिकै संविधान बनाउँछन् ? रासस