
कञ्चनपुर, २४ असोज–कञ्चनपुरका एकल महिलाले बस भाडामा छुट पाउने भएका छन् । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र र महाकाली सेती बस तथा मिनी बस व्यवसायी समिति महेन्द्रनगरबीच भएको सम्झौता अनुसार एकल महिलालाई परिचयपत्रका आधारमा बस भाडामा छुट दिने निर्णय गरिएको हो ।
सम्झौताबमोजिम छोटो एवम् लामो दूरीका बसमा १५ प्रतिशतका दरले बस भाडामा छुट दिने व्यवस्था गरिएको द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष सीता बोहराले जानकारी दिइन् । छोटो दूरीका बसमा सबै जनालाई र लामो दूरीका बसमा एउटा बसमा दुईजनालाई मात्र छुट दिइने सम्झौता भएको छ ।
बस भाडामा एकल महिलालाई केही दिनमा नै १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत छुट दिने व्यवस्था गर्ने तयारी पनि भैरहेको बस व्यवसायी समितिका अध्यक्ष बाबुराम शर्माले बताए । दसँैको अवसर पारेर छुट दिने व्यवस्था गरिने बताइएको छ ।