दशैंमा मदिरा बिक्री बढ्यो

काठमाण्डु टुडे २०७० असोज २४ गते २:१७ मा प्रकाशित

अछाम, २४ असोज–दशैंकोबेला अछाममा मदिराको बिगबिगी बढ्न थालेको छ । अछामका साँफेबगर, बयालपाटा, धार्मिक उदगमस्थल जनालीकोट, जयगढलगायत आसपासका क्षेत्रमा मदिराको खुला बिक्री–वितरण भैरहेको छ । अछाममा राजनीतिक दल र प्रमुख जिल्ला अधिकारी लगायतको जिल्ला समन्वय समिति गठन गरी दिउँसो ४ देखि बेलुका ७ बजेसम्म मदिरा बिक्री–वितरण गर्न पाउने प्रावधान बनाइएको भए पनि सो प्रावधान पूर्ण लागू हुन नसकेको प्रहरीको भनाइ छ ।

मदिराका कारण एकआपसमा झगडा र गालीगलोज गर्दा समाजमा नराम्रो असर पर्दै गएको स्थानीयवासीको भनाइ छ । कतिपय मानिसले जतिबेला पनि रक्सी सेवन गरी घरपरिवार र समाजका सोझासाझा जनतालाई त्रसित गर्ने गरिएको पाइएको छ । सरकारले अछाममा मदिरा निषेधित क्षेत्र घोषणा नगरे आउने पिँढीसमेत मदिराको लतमा फस्ने देखिएको छ ।

त्यसैगरी अछामको जनालीकोट धार्मिकस्थल नजिकका पसलमा समेत खुलेआम मदिरा बिक्री–वितरण हुनाले मन्दिरमा आउने दर्शनार्थीसमेत आक्रान्त हुने गरेको जनालीकोट कुँवर सोसाइटीका अध्यक्ष मदन कुँवरले बताए । धर्मपीठनजिक यसरी मदिरा बिक्री–वितरणले नराम्रो असर पर्दै गएको कारण अविलम्ब सरकार तथा प्रहरी प्रशासनले सो क्षेत्रलाई मदिरा निषेधित क्षेत्र बनाउन पहल गर्नुपर्ने उनको भनाइ छ । यस्ता धार्मिकस्थलमा मदिरा सेवन गर्दा होहल्ला हुने र दर्शनार्थीसमेत त्रसित हुनाले अविलम्ब उद्योग वाणिज्य सङ्घलगायत प्रहरी प्रशासनले यस्ता विकृतिलाई रोक्न पहल चाल्नुपर्ने स्थानीयको माग छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us