महिला विकासका लागि पञ्चवर्षीय योजना

काठमाण्डु टुडे २०७० असोज २४ गते २:०७ मा प्रकाशित

बाँके, २४ असोज–बाँके जिल्लामा महिला समुदायले भोग्नुपरेका समस्यालाई एकद्वार प्रणालीबाट किनारा लगाउन ‘महिलाको पञ्चवर्षीय रणनीतिक योजना’ तर्जुमा गरिएको छ । योजना सञ्चालनका लागि केही समयअघि सरोकारवाला निकायबीच आयोजना गरिएको अन्तरक्रियाबाट प्राप्त सुझावलाई समेत समावेश गरी योजनालाई अन्तिम रुप दिने गृहकार्य भइरहेको महिला विकास अधिकृत शोभा शाहले बताइन् ।

जिल्ला विकास समिति, नेपालगन्ज नगरपालिका, सेभ द चिल्ड्रेन, प्लान नेपाल, सिविन नेपाल, युनिसेफ, महिला तथा बालबालिका कार्यालय र जिल्ला बाल कल्याण समिति साझेदार निकायका रुपमा रहेको सो रणनीतिक योजना जिल्ला परिषद्बाट पारित गराई कार्यान्वयन तहमा लगिनेछ ।

जिल्लाका महिलाले राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षअन्तर्गत भोग्नुपरेका समस्या समाधानका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले विगतमा अलग—अलग कार्यक्रम सञ्चालन गरे तापनि प्रभावकारी उपलब्धि हासिल नभएपछि एकीकृत रणनीतिक योजना सञ्चालन गर्न अन्य सरोकारवाला पनि सहमत देखिएका छन् ।

सो रणनीतिक योजनाका लागि जिल्लाका ११ गाविस, नेपालगन्ज नगरपालिकाका ४ वडाका समुदाय, विभिन्न १५ महिला समूह र २४ जना नेतृत्वकर्तासँग गरिएको छलफल तथा अध्ययन, अनुसन्धानपछि तयार पारिएको प्रतिवेदनले जिल्लामा बाल विवाह, अनमेल विवाह, कम उमेरमा विवाह, दाइजोप्रथा, छोरीप्रतिको भेदभाव, शिक्षामा बालिकाको पर्याप्त पहँुच नहुनु, सामाजिक सुरक्षा नहुनु, महिलाप्रतिको परम्परागत धारणा तथा दृष्टिकोण, आर्थिक पछौटेपन तथा रुढीवादी सांस्कृतिक परम्परा महिला विकासको प्रमुख बाधकका रुपमा रहेको देखाएको छ ।

महिला तथा बालबालिका कार्यालयले अगुवाइ गर्ने सो पञ्चवर्षीय योजनाका लागि जिल्ला विकास समिति, नेपालगन्ज नगरपालिका कार्यालयलगायत योजनामा प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायले पनि सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us