कसरी भयो दैलेखमा प्रहरी निरीक्षक र जवानको हत्या ?

काठमाण्डु टुडे २०७० असोज २४ गते १५:५५ मा प्रकाशित

दैलेख, २४ असोज– जिल्ला प्रहरी कार्यालय दैलेखमा गोली चल्दा प्रहरी निरीक्षक हेमराज भट्ट र प्रहरी जवान कमल शर्माको मृत्यु भएको छ । प्रहरी जवान शर्माले भट्टको हत्यापछि आफूले पनि आत्महत्या गरेको बताइए पनि कारण स्पष्ट खुलेको छैन । बैतडी घर भएका भट्ट कन्चनपुर बस्दै आएका थिए भने शर्मा दैलेख खड्कवाडाका हुन् ।

हत्यामा हतियारको प्रयोग
कार्यालय प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जन सुरक्षा समितिको बैठकमा भाग लिन नेपालगन्ज गएकाले भट्ट नै निमित्त प्रमुख थिए । जिल्ला प्रहरी कार्यालय भित्रै सुतिरहेकोबेला विहान ५ बजे गोली चलेको आवाज सुनेपछि भागदौड मच्चिएको थियो । केही समयपछि भट्ट सुतिरहेकै कोठामा टाउकोमा तीनवटा गोली लागेको अवस्थामा मृत भेटिए । उनका अंगरक्षक प्रहरी जवान शर्मा पनि घाइते अवस्थामा भेटिए । उनको पेटमा दुईवटा गोली लागेको थियो । दशैंको विदा नपाएका कारण केहिदिनदेखि तनावमा रहेका शर्माले सोही कारण प्रहरी निरिक्षक भट्टको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायव उपरिक्षक महर्जनले बताए । हत्यामा एसएलआर प्रयोग भएको अनुमान गरिए पनि अनुसन्धान पछि मात्रै एकीन हुने उनको भनाइ छ । एसएलआर लामो हतियार हुने भएकाले आफैलाई पेटमा गोली हान्न मिल्दैन । त्यसैले अंगरक्षक शर्माले आफ्नो पेटमा आफैले गोली हानेर आत्महत्या गरेको बताइए पनि विश्वास गर्न कठीन हुने जानकारहरु बताउँछन् ।

त्यसरात के भएको थियो ?

प्रहरी निरीक्षक भट्ट गत वैशाखमा दैलेखमा खटिएका थिए । प्राविधिक रुपमा कार्यरत दैलेखका प्रहरी जवान कमल झण्डै एक महिना अघि मात्र भट्टको अंगरक्षक बनेका थिए । भट्ट र उनका अंगरक्षक शर्माको बस्ने कोठा सँगसँगै छ । उनीहरु गाउँमा रात बिताएर विहानीपख मात्र प्रहरी कार्यालय भित्र छिरेका थिए । त्यसको केही घण्टापछि गोली चलेको थियो । गोली लागेर भट्टको टाउकोको भाग उछिट्टीएको छ ।

शर्माको शव दैलेख जिल्ला अस्पतालमा र भट्टको शव जिल्ला प्रहरी कार्यालय भित्र छ । गोली लागेर गम्भीर घाइते शर्माको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको बताइएको छ । घटनाको अनुसन्धान गर्न सुर्खेत र नेपालगन्जबाट प्रहरी अधिकारीहरुको टोली दैलेख झिकाइएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us