
दोलखा, २३ असोज – दोलखामा दसैंमा घर जान हिंडेका यात्रु सवार बस दुर्घटना हुँदा एक प्रहरी जवानको ज्यान गएको छ ।
काठमाण्डुबाट यात्रु लिएर गएको बा २ ख ९८०४ नम्बरको बस पुष्पलाल मार्ग नजिकै मेलुङमा दुर्घटना भएको हो । दुर्घटनामा प्रहरी जवान दिपात लामाको मृत्यु भएको छ । घाइते ८ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ ।
उकालो बाटोमा पछाडि फर्किएर बस सडकबाट सखेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए । अप्ठेरो बाटोमा क्षमताभन्दा बढी यात्रु रहेका कारण बस दुर्घटना भएको अनुमान प्रहरीको छ । बसमा ५० भन्दा बढी यात्रु रहेको बुझिएको छ ।