काँग्रेसका बागी उम्मेदवार पार्टीको साधारण सदस्यबाट निश्कासित

काठमाण्डु टुडे २०७० असोज २३ गते १२:४४ मा प्रकाशित

काठमाण्डु २३ असोज–नेपाली काँग्रेसले आगामी संविधानसभाको निर्वाचनका लागि पार्टीले प्रस्तुत गरेको आधिकारीक उम्मेदवारबिरुद्ध खडा भएका बागी उम्मेदवारलाई पार्टीको सदस्यबाट निस्काशन गरेको छ । सो पार्टीले जारी गरेको प्रेस बिज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारको बिरुद्धमा खडा भएका बागी उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले पार्टीका कुनै पनि सदस्यले सहयोग नगर्न निर्देशन दिइएको छ ।
काँग्रेसको विधानमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनेलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निलम्बन गरिने उल्लेख छ ।
यसैवीच चितवन पुगेका काँग्रेसका सभापति सुशील कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएका सबै नेतामाथि कारबाही हुने बताएका छन ।
    प्रेस युनियन चितवनले बुधवार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले आधिकारिक उम्मेदवारविरुद्ध बागी भई लड्नेलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने सम्भावना नभएको बताए ।
आफूले उम्मेदवारी दिएको चितवनको निर्वाचन क्षेत्र नम्बर ४ मा पूर्व जिल्ला सभापति विकास कोइरालाले बागी भई उम्मेदवारी दिएपछि प्रचारका लागि चितवन पुगेका सभापति कोइरालाले आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने प्रचलन गलत भएको बताए ।
चितवनको क्षेत्र नम्बर ३ र ४ बाट बागी उम्मेदवारी दिएका विकास कोइरालाले क्षेत्र नम्बर ३ बाट भने अन्तिम समयमा मनोनयन फिर्ता लिएका थिए ।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएका तीन जनालाई नवलपरासी काँग्रेसले निष्काशन गरेको हो । निष्काशित हुनेमा नवलपरासी–४ का क्षेत्रीय nc flagसभापति गुणनिधि तिवारी, नवलपरासी–५ का राधेश्याम पाठक र ६ का दीनानाथ कोइराला रहेको जिल्ला कार्यसमिति नवलपरासीका सचिव विष्णु लामिछानेले बताए ।
उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइएको काँग्रेसले जनाएको छ । उनीहरुले पार्टी नेतृत्वले उम्मेदवारी फिर्ता लिन गरेको आग्रह अस्वीकार गरेका थिए । लामिछानेद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी बन्ने व्यक्ति साधरण सदस्यसमेत नरहने भन्ने व्यवस्था विधानमा रहेकाले सोही अनुसार कारबाही गरिएको उल्लेख छ ।
तिवारीले जिल्ला सभापति देवेन्द्ररराज कँडेल, पाठकले विक्रम खनाल र कोइरालाले देवकरण जयसवालविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् ।
काँग्रेसले चिवतन–४ मा सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वजिल्लासभापति विकास कोइरालालगायतलाइृ पनि कारबाहीको तयारी गरेको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us