
सप्तरी, २३ असोज–माओवादी सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएको सप्तरीको रामनगर कोदरकट्टीस्थित छोटी भन्सार कार्यालय स्थानीयवासीको पहलमा पुनःस्थापना गरिएको छ । रामनगर कोदरकट्टी–३ स्थित सन्त कवीर मठको जग्गामा छोटी भन्सार कार्यालय पुनः स्थापना गरिएको हो ।
भारतीय सीमासँग जोडिएको उक्त छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा बर्सेनि व्यापक रुपमा तस्करी हुने गरेकाले राजस्व असुली घट्दै गएको थियो । छोटी भन्सार नहुँदा व्यापक तस्करी हुने गरेको जनगुनासो बढेपछि स्थानीयको सक्रियतामा छोटी भन्सार पुनःस्थापना गरिएको राजविराज बेल्ही भन्सार कार्यालयका प्रमुख धु्रवराज विश्वकर्माको भनाइ छ ।
भारतीय नाकासँग जोडिएको सप्तरीको बोदेबर्साइन, कुसहा, मानराजा, स्वर्णपट्टी, तरही लगायतका स्थानमा छोटी भन्सार कार्यालय स्थापना नभएका कारण सीमा क्षेत्रको सुरक्षाका साथै तस्करी तथा अपराध नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीसँगको मिलोमतोमा तस्करहरु सक्रिय हुँदा राजस्व असुली उल्लेखनीय रुपमा घट्दै गएको हो ।
भारतसँग जोडिएको सप्तरीका ६ वटा नाकाबाट किराना सामानदेखि लिएर बालुवा, ढुङ्गा, छड लगायतका समान अवैध रुपमा निकासी हुने गरेको छ । भारतीय सीमासँग जोडिएको सप्तरीको पश्चिमी दक्षिणी नाका स्वर्णपट्टी, कुसहा, पातो, रामनगरकोदरकट्टी, मौवहा बेल्ही, बोदेबर्साइन, बननियाँ, छिन्नमस्तासहितका नाकाबाट दैनिक लाखौँ मूल्यबराबरको किराना सामान, लत्ताकपडा, खाद्यान्न, मोटर पार्टस, इलेक्ट्रोनिक्स तथा काठ लगायतका समान अवैध रुपमा पैठारी हुँदै आएको छ ।
राजविराज बेल्ही भन्सार कार्यालयको मातहतमा जिल्लाभरि ६ वटा छोटी भन्सार भए पनि कर्मचारीको अभावका कारण रामनगर कोदरकट्टीसँगै तीनवटा मात्र छोटी भन्सार सञ्चालन हुन सकेका छन् । सीमा नाकामा छोटी भन्सार कार्यालय सक्रिय नहुँदा राजस्व कटाउन सप्तरीको तिलाठीस्थित बेल्ही भन्सार कार्यालय नै धाउनुपर्ने बाध्यता रहेका कारण पनि अवैध समानको ओसारपोसार गर्न बाध्य भएको व्यापारी बताउँछन् । रासस