
परासी, २३ असोज – नवलपरासीमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले चुनाव प्रचारप्रसारका लागि भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरेको पाइएको छ । सानादेखि ठूला दलका अधिकांश उम्मेदवारले भारतीय सवारीसाधनमा पार्टीको झन्डा राखेर प्रचारप्रसार गरेको पाइएको हो ।
चुनाव प्रचारप्रसारमा भारतीय नम्बर प्लेटका सवारीसाधन बढी प्रयोग हुन थालेपछि निर्वाचन अधिकृतको कार्यालयले हरियो प्लेट अनिवार्य गरेको छ । सुरक्षा व्यवस्था सजिलो बनाउनका लागि उम्मेदवारले प्रयोग गर्ने भारतीय नम्बरको गाडीमा हरियो प्लेटको नम्बर राख्न अनिवार्य गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसका लागि स्थानीय प्रशासनले उम्मेदवारलाई जानकारी गराइसकेको छ ।
निर्वाचनको कार्यसूची प्रकाशित भएदेखि नै अधिकांश मधेसवादी दललगायत केही अन्य दलका उम्मेदवारले पनि भारतीय नम्बर प्लेटका सवारीसाधनलाई प्रचारमा प्रयोग गरेका छन् । जिल्ला सदरमुकाम परासीलगायत सीमावर्ती क्षेत्रमा ३० भन्दा बढी भारतीय सवारीसाधन प्रचारमा प्रयोग भएका छन् । उनीहरुले छोटी भन्सार कार्यालयबाट दैनिक सुविधा काटेर त्यस्ता सवारीसाधन भारतबाट ल्याउने गरेका छन् । नेपालमा भन्दा भारतबाट सवारीसाधन ल्याउँदा भाडामा सस्तो पर्ने भएकाले सीमावर्ती क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारीसाधन बढी प्रयोगमा आउने गरेको हो । रासस