काठमाण्डु २३ असोज –नेपाली काँग्रेसले संबिधानसभा निर्वाचनका लागि चन्दा माग्न थालेको छ । उद्योगी,व्यवसायी,प्रवासी नेपालीहरुलाई बढी लक्षित गरेर काँग्रेसले चन्दा मागेको छ । काँग्रेसले नियमित चन्दा उठाउने गरेको चन्दाका लागि पठाएको पत्रमा खुलासा भएको छ ।
काठमाण्डु टुडेलाई प्राप्त पत्रमा भनिएको छ‘सदा झै यसपाली पनि खुला हृदयले पार्टीलाई आर्थिक सहयोग गर्नु हुनेछ र यसका लागि नेपाली काँग्रेसको बैंक खाताहरु /टेमिटयान्सहरु मार्फत सहयोग उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौ ।’चन्दालाई निर्वाचन तथा पार्टी परिचालनका लागि पूर्ण पारदर्शी रुपमा उपयोग हुने पनि चन्दादातालाई पत्रमा बिश्वास दिलाउन खोजिएको छ ।
‘संबिधानसभाबाट मात्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुका साथै समावेशिता सुनिश्चित गर्न सकिन्छ । यसै उद्देश्यबाट अभिप्रेरित भई काँग्रेस आगामी निर्वाचनमा तपाईको अमूल्य सुझाव र स्वेच्छिक आर्थिक सहयोगको अपेक्षा गर्दछ’सभापति तथा निर्वाचन कोष निर्माण समितिका संयोजक सुशिल कोइरालाले पठाएको पत्रमा भनिएको छ‘हामीलाई बिश्वास छ,तपाईको अमूल्य मत र उदार सहयोगबाट नै हाम्रो सफलता सुनिश्चित हुनेछ ।’
पत्रमा बिद्यमान अन्यौल समाप्त गरी राजनीतिक स्थिरता ,लोकतन्त्रको रक्षा र राष्ट्रियताको सम्बद्र्धन गर्दै आर्थिक समृद्धिको बाटामा मुलुकलाई अग्रसर गराउन काँग्रेस प्रतिबद्ध रहेको उल्लेख छ । ‘यस दिशामा अघि बढन आगामी मंसिर ४मा सम्पन्न हुने संबिधानसभाको निर्वाचन सम्पन्न गर्नु हामी सबैको कर्तव्य हो’पत्रमा भनिएको छ ।