सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाण्डु टुडे २०७० असोज २३ गते २:४३ मा प्रकाशित

काठमाण्डु, २३ असोज–गुल्मी र कास्कीमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

गुल्मीको बेलौनी खोलास्थित साखा सडकखण्डमा लु १ त ६१४३ नम्वरको ट्याक्टर सडकबाट अन्दाजी ८० मिटर तल खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार गुल्मी भुर्तुङ्का ५५ बर्षीय गनबहादुर किसन र ४६ बर्षीय नवराज श्रेष्ठ रहेका छन् । दुर्घटनामा गम्भिर घाईते भएका ट्याक्टर चालक सोही ठाउँका कुमार थापा र होम बहादुर रानालाई उपचारको लागि पाल्पा पठाईएको छ ।

यसैगरी पोखरा–वाग्लुङग सडकखण्ड अन्तर्गत कास्कीको ढिकुरपोखरीमा बस र मोटरसाईकल बुधबार विहान ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । काठमाण्डुबाट बाग्लुङ तर्फ जाँदै गरेको ना ५ ख ८७४ नम्वरको बस र ग २ प ९४६८ नम्वरको मोटरसाईकल बुधबार विहान साढे ३ बजे एक आपसमा ठोक्किदा मोटरसाईकल चालक साराङकोटका २८ बर्षीय मधुसुदन अधिकारीको मृत्यु भएको हो । उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते भएका मोटरसाईकलमा पछाडी सवार सोही ठाउँका ३६ बर्षीय सुमन नेपालीको गण्डकी मेडीकल कलेज चरकमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us