खुमबहादुर जेलमुक्त,काँग्रेसलाई जिताउन सकृय हुने उदघोष

काठमाण्डु टुडे २०७० असोज २३ गते १०:५६ मा प्रकाशित

Khum_Bahadur-Khadaka-copyकाठमाण्डु–मन्त्री हुँदा गैरकानुनी सम्पति आर्जन गरेको मुद्दामा दोषी ठहर पूर्वमन्त्री तथा काँग्रेस नेता खुमबहादुर खड्का बुधबार जेलबाट रिहा भएका छन् । डिल्लीबजार सदरखोरबाट रिहा भए लगत्तै पत्रकार र समर्थकहरुसँग कुरा गर्दै उनले आगामी चुनावमा काँग्रेसलाई जिताउन सकृय हुने बताए ।

‘चुनावमा काँग्रेसलाई जिताउन भुमिका खेल्छु,’ उनले भने, ‘राष्ट्रियताको पक्षमा मेरो लडाईं जारी रहन्छ ।’ उनले सर्बोच्च अदालतले भ्रष्टाचारी ठहर गरे पनि आफ्नो राजनीति नसकिने उदघोष समेत गरे । ‘सर्बोच्च अदालतको फैसलाले मेरो राजनीति सकिन्न,’ उनले भने । आफू निर्दोष भएको दावी गर्दै उनले कानुनलाई सम्मान गर्न जेल बसेको उनको भनाइ थियो ।

संविधानसभा चुनावमा वैद्य माओवादीलाई नसमेटेर सरकार र राजनीतिक दलहरुले गल्ती गरेको भन्दै खड्काले चुनावमा सबै दलको सहभागीता हुनुपर्नेमा जोड दिए । ‘मोहन वैद्यले नेतृत्व गरेको माओवादी मोर्चालाई बाहिर राखेर चुनावमा गए देश द्वन्द्वमा जान्छ जान्छ । राष्ट्रलाई छिन्नभिन्न गर्ने कोशिस भैरहेको छ । हामी डेमोक्र्याट हौं त्यसैले सबैलाई समेटेर अघि बढ्नुपर्छ,’ उनले भने ।

पत्रकारको एक जिज्ञासामा खड्काले जेलमा दुःख पाएको गुनासोसमेत गरे ।

खुमबहादुरलाई एक सय ११ किलोको माला

खुमबहादुर रिहा भएलगत्तै उनलाई समर्थकहरुले एक सय ११ किलोको फूलको माला लगाइदिएका थिए । कारागार बाहिर उनका समर्थकहरुले नाराबाजी गरेका थिए । समर्थकहरुले वीपी कोइरालाको तस्विर अंकित सेतो टिसर्ट र क्याप लगाएका थिए । टिसर्टमा ‘तरुण’, ‘खुमबहादुर जिन्दावाद’, ‘नेपाली काँग्रेस जिन्दावाद’ जस्ता नारा लेखिएको थियो । जेलमा केन्द्रीय सदस्य शंकर भण्डारी लगायतका नेता कार्यकर्ता पुगेका थिए । खुमबहादुरका समर्थकहरुको भीडले डिल्लीबजारको चारखाल क्षेत्रको सडक केहीबेर अबरुद्ध भएको थियो । उनलाई कार्यकर्ताहरु अघिपछि लागेर सानेपास्थित निवाससम्म पुर्याएका छन् । निवासमा खड्काको ससुराली पक्षले आरती समेत उतारेको पारिवारिक स्रोत बताउँछ ।

खड्काको स्वागतकालागि भन्दै बिभिन्न जिल्लाबाट काँग्रेस कार्यकर्ताहरु काठमाण्डु आएका छन् । उनको गृहजिल्ला दाङसहित रौतहट, विराटनगर, तनहुँलगायत जिल्लाबाट समर्थकहरु बस रिजर्भ गरेर काठमाण्डु उपत्यका भित्रिएका छन् । दाङबाट मात्रै २० वटा बसमा कार्यकर्ता काठमाण्डु भित्र्याइएका छन् ।

अकूत सम्पत्ति आर्जन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा रहँदा खड्काले अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै २०६४ सालमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी र सदस्यद्वय कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर जबराले खुमबहादुरलाई सफाइ दिए पनि अख्तियारले पुनः सर्बोच्चमा मुद्दा दायर गरेको थियो  । सर्बोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले २०६९ साउन ३० मा खुमबहादुरलाई भ्रष्टाचारी ठहर गरी डेढ वर्षको कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपियाँ जरिवाना तथा त्यति नै बिगो तिर्नुपर्ने फैसला गरेको थियो । सर्बोच्चको फैसला लगत्तै आक्रोशित उनका समर्थकहरुले अदालतकै अगाडी केही गाडी तोडफोड गरेका थिए । सर्वोच्चको फैसलालाई स्वीकार गरेर खड्का २०६९ भदौ ५ गते जेल गएका थिए ।

खुमबहादुरले २०४८ सालमा मन्त्री हुँदा बुझाएको सम्पत्ति विवरणमा नगद २ लाख, पक्की घर–१, भान्सा घर–१, सुन–७ तोला, चाँदी–६ तोला, गोल्डस्टार टिभी–१, जग्गा–१० बिघा, आमाका नाममा जग्गा–२ बिघा उल्लेख छ । तर उनी करोडौंको मालिक बनेका छन् ।

यतिबेला भक्तपुरमा पत्नी शीला खड्काको नाममा रहेको करिब १४ रोपनी जमिन चतुर्वेदी थरका प्रहरीलाई नामसारी गरेको, मन्डिखाटारमा साली सुधा आचार्यको नाममा जग्गा खरिद गरी त्यसमा करोडौंको घर बनाएको, दाङको सतबरिया र ललितपुरको सानेपामा पनि भव्य घर बनाएको, जेठान मुकुन्द गौतमका नाममा भक्तपुरमा १३ रोपनी जग्गा किनेको, हेटौंडामा पोलिप्याक कारखाना स्थापना गरेको, साला महेन्द्र गौतमका नाममा काठमाण्डुमा भव्य घर बनाएको, दाङमा पेट्रोलपम्प स्थापना गरेको लगायत अभियोग उनीमाथि छ ।

चुनावको टिकटमा चलखेल
खड्काले जेलभित्रैबाट राजनीतिक चलखेल गरी पार्टीमा आफ्नो प्रभाव कायम राखेका छन् । उनले आफ्ना प्रीयपात्र पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई सहमहामन्त्री बनाउन सफल भए । जेलबाटै दोस्रो संविधानसभा चुनावका लागि आफूनिकटलाई टिकट दिलाउन पनि उनले चलखेल गरे । आफू निकटकाले टिकट नपाएपछि उनले पार्टीको आधिकारिक उम्मेदवार विरद्ध वागी उम्मेदवार उठाए । तनहुँ क्षेत्रनम्बर २ मा उपसभापति रामचन्द्र पौडेलका वागी उम्मेदवार तरुण दल केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङ खड्का निकट हुन् । यसैगरी गृहजिल्ला दाङ क्षेत्र नम्बर १ मा पार्वती डिसी चौधरी विरुद्ध पनि खड्का निकटकै स्थानीय नेता वागी उम्मेदवार छन् । लमहीका होटल व्यवसायी समेत रहेका लिलाराम खनालले खड्काकै निर्देशनमा पार्वती विरुद्ध वागी उम्मेदवारी दिएको स्रोत बताउँ छ । सो क्षेत्रमा आफ्नी पत्नी शिलाको उम्मेदवारी भने उनले जेलभित्रैबाट विज्ञप्ति निकालेर अस्वीकार गरेका थिए । विगतको संविधानसभा चुनावमा आफू हारेकाले यसपाली पत्नी पनि हार्ने ठहर सहित उनले उम्मेदवारी अस्वीकार गरेको स्रोत बताउँछ ।

अघिल्लो संविधानसभा चुनावमा खड्का गृहजिल्ला दाङ क्षेत्र नम्बर १ बाट एकीकृत माओवादीका राज्य समिति सदस्य इन्द्रजीत थारुसँग पराजित भएका थिए । थारु हाल वैद्य माओवादीमा छन् ।

खुमबहादुरको अश्लील बोली
खड्का पछिल्लो समय पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् । आफूलाई जेल जानबाट रोक्न पार्टीले पहल नगरेको उनको गुनासो छ । यही रिस उनले एकदिन उपसभापति पौडेलसमक्ष पोखेका छन् । आफूविरुद्ध वागी उम्मेदवारी पर्ने थाहा पाएपछि उपसभापति पौडेल त्यसलाई रोकिदिन आग्रह गर्दै खड्कालाई भेट्न डिल्लीबजार जेल पुगेका थिए । तर, खड्काले पौडेलको आग्रह अस्वीकार गर्दै उल्टै अश्लील गाली गरी फर्काइदिएका जेलका कर्मचारीहरु बताउँछन् । त्यसो त उनी साथीभाईहरुसँग गफ गर्दा पनि पटक–पटक अश्लील शब्द प्रयोग गर्छन् ।
माओवादी कार्यकर्ताको हत्या आरोप

२०६४ चैत २८ गतेको पहिलो संविधानसभा चुनावको प्रचारप्रसार जारी थियो । हरेक निर्बाचनमा जित्दै आएका खुमबहादुर खड्का दोस्रो संविधानसभा चुनावमा दाङ क्षेत्रनम्बर १ का काँग्रेस उम्मेदवार थिए । तर, उनलाई भर्खरै शान्तिप्रकृयामा आएको माओवादीले टक्कर दिएको थियो । माओवादीले खुमबहादुर भन्दा आधा उमेर कान्छो इन्द्रजीत थारुलाई उम्मेदवार बनाएको थियो । थारु समुदायको बाहुल्य दाङ देउखुरीमा इन्द्रजीतको पक्षमा जनलहर उर्लियो । खुमबहादुरलाई पर्यो फसाद । बर्षौंदेखि पद र पावरमा बसेर हैकम जमाउँदै आएका खुमबहादुर हार्ने निश्चित भयो । पूर्वगृहमन्त्री समेत रहेका खुमबहादुर इन्द्रजीतलाई हराउने योजनामा थिए ।

चुनाव हुनुभन्दा ठीक दुई दिन अघि मङ्गलबार राति पौने ७ बजे देउखुरी सतबरियाबाट लमहीतर्फ जाँदै गरेको माओवादी कार्यकर्ता चढेको गाडीमा खुमबहादुरको घर सतबरियाबाट गाडीमा आइरहेको सशस्त्र प्रहरीले गोली चलायो । चुनाव प्रचारमा हिँडेका माओवादीका पाँच माओवादी कार्यकर्ता मारिए । दाङ राजपुर गाविसका मीनबहादुर पुन, सौडियार गाविस जबरपुरका शीतल चौधरी, जीवलाल चौधरी, सैलाहीका लबरु चौधरी र राजपुरका पुनजङ सिंह गोलीका शिकार भए । घटनामा २० माओवादी कार्यकर्ता घाइते भए ।

इन्द्रजीत चढ्ने गाडीलाई बीचमा राखेर वाईसीएल कार्यकर्ताहरु चुनाव प्रचारमा हिँड्थे । इन्द्रजीतलाई नै आक्रमण गर्ने लक्ष्य सहित लमही बजारमा एउटा गाडीले वाइसीएल कार्यकर्ता चढेको गाडीको बाटो छेक्यो र पछाडीबाट आएको सशस्त्र प्रहरीको गाडीबाट गोली चल्यो । इन्द्रजीत चढेको गाडी भने त्यहाँबाट अगाडी बढिसकेकाले उनी बँच्न सफल भए ।

घटनापछि तत्कालीन माओवादी दाङ जिल्ला इञ्चार्ज शान्तराज पोख्रेल ‘डायमण्ड’ले हत्याको भ्रत्र्सना गर्दै विज्ञप्ति निकाले । विज्ञप्तिमा खुमबहादुर खड्काको षडयन्त्रमा योजनाबद्ध ढङ्गले आफ्ना कार्यकर्ताको हत्या गराइएको उल्लेख थियो ।

घटना हुनुभन्दा केही समयअघि खुमबहादुर पक्षका एकदर्जन बढी कार्यकर्ताहरु कपिलवस्तु हुँदै मोटरसाइकल चढेर दाङ आउँदै थिए । त्यसको पूर्वसूचना पाएपछि वाईसीएल कार्यकर्ताहरुले तिनिहरुलाई पीपरी, सिसहनिया लगायत स्थानमा रोकेर मोटरसाइकल समेत कब्जा गरी लखेटे । त्यसबाट काँग्रेस नेता–कार्यकर्ता रुष्ट थिए । अर्को दिन विहान खुमबहादुरको गाउँ सतबरियामा काँग्रेस र माओवादीका कार्यकर्ताबीच सामान्य झडप भएको थियो । झडपलगत्तै काँग्रेस नेता खड्का इलाका प्रहरी कार्यालय लमहीमा पुगी सदरमुकाम घोराही आएका थिए । त्यतिबेला दाङमा एसपी दीपक थापा थिए । थापालाई भेटेर खुमबहादुरले माओवादी कार्यकर्ता दमन गर्न दवाव दिएको स्रोत बताउँछ । त्यहि दिन साँझ लमहीमा माओवादी कार्यकर्ताको हत्या भयो ।

त्यसो त खुमबहादुर गृहमन्त्री हुँदा माओवादी जनयुद्ध दबाउने कोशिस गरिएको थियो । जनयुद्ध दवाउने नाममा माओवादी समर्थक र सर्बसाधारणको ज्यान लिएर रगतको खोलो बगाएको भन्दै स्थानीय माओवादी कार्यकर्ताहरुले खुमबहादुरलाई ‘खुनबहादुर’ नाम राखिदिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us