
काठमाण्डु, २३ असोज–बडादशैंको पाँचौ दिन बुधबार पनि देशभरका दुर्गा देवीको मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लागेको छ । दशैंको पाचौं दिन कुमार कार्तिकेयकी माता स्कन्दमाताको पूजा गरिन्छ । दशैंको ९ दिनसम्म हरेक दिन छुट्टाछुट्टै देवीको पूजा गर्ने चलनअनुसार बुधबार श्वेतवर्णकी स्कन्दमाताको पूजा गरिएको हो ।
काठमाण्डु उपत्यकाका भद्रकाली, नक्साल भगवती, शोभा भगवती, मैतीदेवी लगायतका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनहरुको घुर्इंचो छ । त्यस्तै काठमाण्डु उपत्यका बाहिरका पाथिभरा, पलान्चोक भगवती, छिन्नमस्ता, दन्तकाली, जलपादेवी, छत्रेश्वरी, मनकामना, बागेश्वरीलगायतका शक्तिपीठहरुमा पनि विहानैदेखि दुर्गा भवानीको पूजा अर्चना भैरहेको छ ।
दशैंको पाँचौं दिन काठमाण्डुको टेकुस्थित पचली भैरवको पूजा गरी जात्रा मनाउने परम्परा पनि रहिआएको छ ।