नोबेल भौतिकशास्त्रको पुरस्कार वेलायत र वेल्जियमका बैज्ञानिकलाई

काठमाण्डु टुडे २०७० असोज २३ गते १:२४ मा प्रकाशित

स्टकहोम–बेलायती वैज्ञानिक पिटर हिग्स तथा बेल्जियमका फ्राँस्वा एङलेर्टले ‘भगवानका कण’ भनिने आकार वृद्धि गर्ने तत्वको अवधारणा तय गर वापत यस वर्षको नोबेल भौतिकशास्त्रको पुरस्कार प्राप्त गरेका छन । ब्रसेल्सको फ्री युनिभरसिटीमा निर्णायक समितिले यस पुरस्कारको औपचारिक घोषणा गर्दै हिग्स र एङलेर्टलाई पुरस्कृत गरिएको जानकारी दिएको हो ।
८४ वर्षीय हिग्स र ८० वर्षीय एङलेर्टले ब्रह्माण्डमा कुनै पनि तत्व किन रहेको छ भन्ने कुराको व्याख्या गर्दै निकै चुनौतीपूर्ण खोजपछि एक तत्वको विषयमा सिद्धान्त तय गरेका थिए ।
यो तत्व अन्तरिक्षमा अदृष्य स्थानबाट देखा परेको र ब्रह्माण्ड रिक्त भए पनि यस तत्वको अस्तित्व रहेको ठानिएको नोबेल पुरस्कार निर्णायक समितिले मंगलवार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसका सिद्धान्तकारहरुले यो नभएको भए मानवको अस्तित्व पनि सम्भव नभएको बताएका छन् ।
पुरस्कार घोषणा भए लगत्तै एडिनवरा विश्वविद्यालयले हिग्सको एक विज्ञप्ति प्रकाशन गरेको थियो र विज्ञप्तिमा उनले यस सम्मानबाट आफू भावविह्वल भएको उल्लेख गरेका छन । उनले यस नयाँ तत्वको खोजमा योगदान दिने सबैलाई बधाइ दिएका छन ।
एङलर्टले एएफपीलाई आफू यस पुरस्कार प्राप्त गर्दा निकै खुसी भएको बताए । बोसोनलाई ‘भगवानको तत्व’ भनिन्छ र यसलाई खोज्न निकै कठिन भएपनि यो जताततै भएको ठानिन्छ । यो तत्व गत वर्ष युरोपको जिनिभास्थित ठूलो स्तरको भौतिकशास्त्रसम्बन्धी प्रयोगशालामा सर्नमा दशकौँसम्मको अनुसन्धानपछि पत्ता लागेको हो ।
क्यानाडाका तत्व भौतिकशास्त्री पाउलिन ग्यागनोनले यस तत्वको खोजी पृथ्वी गोलो छ वा मानवले चन्द्रमामा पाइला राखे भन्ने जस्तै सत्यको रुपमा देखा परेको बताए । सन् १९६४ मा भौतिकशास्त्रीहरुले अनुसन्धानपत्रमा उल्लेख गरेपछि यो तत्वका वारेमा चर्चा हुन थालेको हो । त्यस समयका अनुसन्धानकर्ताहरुमा बेल्जियमका नागरिक रोबर्ट बुर्ट तथा एङलेर्ट पनि पनि थिए । बु्रुटको सन् २०११ मा निधन भइसकेको छ ।
त्यसपछि यसलाई हिग्सले अगाडि बढाएका थिए । हिग्सले कुनै अज्ञात तत्वको अस्तित्व नभइकन आकार वृद्धि नहुने धारणा राखेका छन । यसैका लागि यो तत्वको नाम पनि उनकै नाममा राखिएको छ । हिग्स सँधै यस तत्वको खोजीमा अरुको महत्वपूर्ण योगदान रहेको बताउछन ।
हिग्सको अनुसन्धानको मूल कुरा कुनै पनि तत्वको आधारभूत अंशको अवधारणात्मक संरचना रहेको छ । उनले सन् १९७० मा तयार गरेको नमुनामा केही तत्वमा ठोस अंश भएको र प्रकाश जस्तो तत्वमा ठोस अंश किन नभएको भन्ने कुरा बताउन असफल भएका थिए ।
यसको उत्तर अदृष्य क्षेत्र बोसोन भएको सिद्धान्त प्रतिपादन भएको छ । यसलाई शक्तिको बाहकको रुपमा पनि लिइन्छ र यो सूर्य टुट्दा र पृथ्वी सिर्जना हुँदाको व्यापक विस्फोट अर्थात ‘बिग ब्याङ’ पछि सिर्जना भएको ठानिन्छ ।
गत वर्ष जुलाई ४ मा भौतिकशास्त्रीहरुले हिग्स बोसोन जस्तै एक तत्व फेला पारेका घोषणा गरेका थिए । यो पुरस्कार परम्परा अनुसार डिसेम्बर १० का दिन स्टकहोममा प्रदान गरिनेछ । सन् १९८६ को सोही दिन यस पुरस्कारका संस्थापक अल्फ्रेड नोबेलको निधन भएको थियो ।
यी वैज्ञानिकहरुले ८० लाख स्विडिस क्रोनर (१२ लाख ५० हजार अमेरिकी डलर वा नौ लाख २५ हजार युरो) बाँडेर लिनेछन । गत वर्ष यस पुरस्कारको राशि एक करोड क्रोनर थियो र आर्थिक सङ्कटको कारण यस राशिमा कमी आएको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us