संबिधानसभा निर्वाचनमा बैद्य सहभागी हुन नसक्नुको कारण खोज्दै चीन

काठमाण्डु टुडे २०७० असोज २३ गते १६:१४ मा प्रकाशित

Yan Junqiकाठमाण्डु २३ असोज–चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिकी उपाध्यक्ष एवम् शान्ति र निःशस्त्रीकरणका लागि चिनियाँ जनसङ्गठनकी उपाध्यक्ष यान चुनछीले संबिधानसभा निर्वाचनमा नेकपा–माओवादी सहभागी हुन नसक्नुको कारण खोजेकी छिन । संबिधानसभा निर्वाचनमा सबै पक्षको सहभागीता हुनु पर्ने धारणा राख्दै चुनछीले राष्ट्रपति डा. रामवरण यादवसँग बुधवार अपराह्न राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा त्यस्तो चासो व्यक्त गरेको स्रोतले जनाएको छ ।
चुनछीको सम्मानमा एमाले अध्यक्ष झलनाथ खनालले मंगलवार साँझ दिएको रात्री भोजका अवसरमा पनि एमाले नेताहरुसँग पनि नेकपा–माओवादी संबिधानसभा निर्वाचनमा सहभागी हुन नसक्नुको कारणका वारेमा चासो व्यक्त गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार चुनछीले मंगलवार नै नागरिक समाजका अगुवाहरुसँग पनि नेपालको पछिल्लो राजनीतिक अवस्था,संबिधानसभा निर्वाचन,मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी संबिधानसभा निर्वाचनमा सहभागी हुन नसकेको अवस्था लगायतका बिषयमा चासो व्यक्त गरेकी थिइन ।
राष्ट्रपति यादवसँगको भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको पाँचदिने भ्रमणका क्रममा मंगलवार चुनछी काठमाण्डु आएकी थिइन । भेटमा नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइ पनि सहभागी थिए
चुनछीले परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे,बिभिन्न राजनीतिक दलका नेतासँग छलफल गर्ने कार्यक्रम छ । चुनछीले पारस्परिक हित र साझा चासोका विविधि विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार चुनछीले भक्तपुर दरबार क्षेत्र, पोखरा र लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम छ । पोखरामा चुनछीले चिनियाँ स्वयम्सेवकहरूसँग अन्तत्र्रिmया गर्नेछिन । पहिलो पटक काठमाण्डु आउनासाथ चुनछीले रासससँग भनेकी छिन ‘यो मेरो पहिलो नेपाल भ्रमण हो, यसबाट चीन–नेपाल सम्बन्ध अझ प्रगाढ हुनेमा म विश्वस्त छु ।’ प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुलुक नेपालको भ्रमण गर्न पाउँदा आफू अत्यन्त हर्षित भएको उनले बताइन । उनले भनिन ‘शताब्दीऔं पुरानो नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मेरो भ्रमण फलदायी हुने आशा छ ।’
चुनछीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत ऊ छुन्थाई, परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल हेमलाल भट्टराई र चिनियाँ दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए । चुनछीले काठमाण्डु आए लगत्तै मंगलवार नेपालको राजनीतिक,आर्थिक,सामाजिक र साँस्कृतिक अवस्थाका वारेमा चिनियाँ दुतावासका अधिकारीबाट ब्रिफिङ लिएकी थिइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us