माओवादी नेता कार्कीबाट उम्मेदवारी अस्वीकार

काठमाण्डु टुडे २०७० असोज २२ गते १२:२१ मा प्रकाशित

दोलखा, २२ असोज – एकीकृत माओवादी केन्द्रीय सदस्य गंगा कार्कीले ‘विश्व’ समानुपातिकतर्फको उम्मेदवार बन्न अस्वीकार गरेका छन् ।
बिनाजानकारी उम्मेदवार बनाएको भन्दै उनले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी अस्वीकार गरेका हुन् ।

ganga karkiकार्कीलाई माओवादीले समानुपातिक उम्मेदवार बनाएको समाचार केही दिनअघि सञ्चारमाध्यममा आएको थियो । उनले आफूले समाचार पढेर उम्मेदवारीबारे जानकारी पाएको भन्दै चित्त दुखाएका छन् ।
‘पार्टीको एउटा जिम्मेवार सिपाही भएर पनि बिनाजानकारी उम्मेदवार भएको भनेर पत्रिकामार्फत जानकारी पाउनु आफैंमा विडम्बनापूर्ण त छँदैछ’, कार्कीले विज्ञप्तिमा भनेका छन्, ‘त्यसका साथै म आफैं समानुपातिक उम्मेदवार हुँदा दोलखा जिल्लाको उत्पीडित जाति र लिंगमाथिसमेत घात हुने महसुस गरें ।’
उनले आफ्नो स्थानमा उत्पीडित क्षेत्र र जातिबाट उम्मेदवार बनाउन पनि पार्टीसँग माग गरेका छन् ।

‘कुनै सल्लाह नै नगरी त्यसरी आएको नामलाई अस्वीकार गर्दै मेरो ठाउँमा उत्पीडित जाति र लिंगलाई समावेश गरियोस्’, उनले भनेका छन् । उनले थामी जिरेल, शेर्पा, सुरेल, नेवार, तामाङ र भुजेललगायत उत्पीडनमा जनजाति र दलित समुदायलाई समानुपातिकमा समावेश गरिनुपर्ने यथार्थतालाई पार्टी नेतृत्वले बिर्सिएको आरोप लगाएका छन् ।
कार्कीले दोलाखा–१ बाट प्रत्यक्षमा उम्मेदवारी दिने आकांक्षा देखाएका थिए । क्षेत्र र जिल्लाले उनको नाम सिफारिस गरेर पठाए पनि केन्द्रले विशाल खड्कालाई उम्मेदवार बनाएको थियो । नेता बाबुराम भट्टराईको दबाबमा आफूभन्दा ‘जुनियर’ खड्कालाई प्रत्यक्ष उम्मेदवार बनाएकामा कार्की रुष्ट थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us