
काठमाण्डु–आगामी संबिधानसभा निर्वाचनमा राजनीतिक दलको पहिचान खुल्ने पोशाक लगाउन नपाइने भएको छ । त्यसो गरेमा आचार सँहिता उलंघन हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले विज्ञप्ती निकालेर चुनावमा प्रचार प्रसार गर्ने उदेश्यले राजनीतिक दलको झण्डा, निर्वाचन चिन्ह, छापिएको टोपी, टिसर्ट, कमिज, झोला, कलम लगायतका कुनै पनि सामाग्री तयार गरी प्रयोगमा ल्याउन रोक लगाएको हो ।
त्यस्तै आयोगले भोज भतेरमा पनि प्रतिवन्ध लगाएको छ । चुनाव प्रचार प्रसारको सिलसिलामा दशै, तिहार, छठ, जस्ता अवसरमा राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलसँग सम्बन्धित व्यक्ति, राजनीतिक दलको भातृ संगठन तथा पदाधिकारहरु समेतले जलपान, भोजभतेर जस्ता कार्यक्रमहरु सञ्चालन गर्न नपाउने गरी रोक लगाउने निर्णय गरेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए ।