साना दलका उम्मेदवारी फर्काउने प्रयास

काठमाण्डु टुडे २०७० असोज २२ गते ७:५१ मा प्रकाशित

मुगु, २२ असोज– संविधानसभाको निर्वाचनमा मुख्य प्रतिस्पर्धी मानिएका काँग्रेस र एमालेले साना दलहरूबाट उम्मेदवारी दिएका उम्मेदवारलाई मतको सही सदुपयोग गर्न भन्दै उम्मेदवारी फिर्ता गराउनेतर्फ प्रयास गरिरहेका छन् । एमाले स्रोतका अनुसार एमाले समर्थक भएर फरक दलबाट उम्मेदवार बनेका चार जनालाई सहयोग गर्न भन्दै उम्मेदवारी फिर्ता गराउने पहल सुरु भएको छ ।
राष्ट्रिय यथार्थवादी पार्टीका कर्णबहादुर खड्का, नेपाल परिवार दलका केशरसिंह कामी, शिव सेना नेपालका पूर्णबहादुर बुढा र सहकारी पार्टी नेपालका कर्णसिंह कुलाललाई उम्मेदवारी फिर्ता गराउन प्रयास भइरहेको छ ।

स्रोतका अनुसार ती उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न अनुरोध गरिएको छ भने उनीहरूसँग एक चरणको भेटघाट र छलफल गर्दा सकारात्मक आश्वासन आएको पनि बताइएको छ ।
काँग्रेस स्रोतका अनुसार मधेसी जनअधिकार फोरम ( लोकतान्त्रिक) का नन्दप्रसाद आचार्य, खस समावेशी पार्टीका भक्तबहादुर शाही, जन जागरण पार्टीका आशिषकुमार मल्ल, नेपाल राष्ट्रवादी पार्टीका धनमानसिंह मल्लको पनि उम्मेदवारी फिर्ता गराउने प्रयास भइरहेको छ ।
यसरी काँगे्रस, एमालेको उम्मेदवारी फिर्ता अभियान सफल भएमा जिल्लामा निर्वाचनमा भाग लिने दल बाह्र वटामात्र हुनेछन् । यसरी ठूला दलले उम्मेदवारी फिर्ता गराउने प्रयास सुरु गरेपछि साना दलका उम्मेदवारले पनि यसलाई लेनदेनको मौका मान्न थालेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us