‘चुनाव विथोल्ने षडयन्त्र विफल पारिन्छ’

काठमाण्डु टुडे २०७० असोज २२ गते ५:०३ मा प्रकाशित

Madhab-Ghimireबाँके, २२ असोज–गृहमन्त्री माधव घिमिरेले संविधानसभा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक सबै प्रकारको सुरक्षासम्बन्धी रणनीति तयार गरिसकेको बताएका छन् । गृहमन्त्रालयद्वारा मंगलबार बाँकेको नेपालगन्जमा आयोजित एकदिने संविधानसभा निर्वाचन मध्यपश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा सम्मेलन उदघाटन गर्दै उनले केही दलले निर्वाचन बिथोल्ने कुरा गरिरहे पनि सरकारले त्यसलाई बिफल बनाउने दावी गरे ।
‘निर्वाचन बहिष्कारमात्र गर्नेमाथि सरकारले बल प्रयोग गर्दैन, तर बिथोल्ने गतिविधिलाई सरकारले परास्त गर्छ,’ गृहमन्त्री घिमिरेले भने ।

संविधानसभाको निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने एउटा प्रमुख कडी भएको बताउँदै उनले लोकतन्त्रमा विश्वास गर्नेका लागि निर्वाचन अपरिहार्य सर्त हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा गृह मन्त्रालयका उपसचिव शंकरप्रसाद कोइरालाले निर्वाचनमा परिचालन हुने मतदातादेखि सबै पक्षको सुरक्षा गर्न सरकार सक्षम रहेको प्रष्ट पारे । गोष्ठीमा मध्यपश्चिम क्षेत्रअन्तर्गत १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी पदाधिकारीले आ–आफ्नो जिल्लामा तय गरेको सुरक्षा रणनीतिका विषयमा प्रस्तुतिकरण गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us