चितवन २२ असोज – नेपाली काँग्रेसका सभापति सुशील कोइरालाका वागी उम्मेदवार विकास कोईरालाले आफ्नो उम्मेदवारी कुनैपनि हालतमा फिर्ता नलिने बताएका छन् । प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता लिने अन्तिम दिन मंगलबार विहान चितवनका सन्चारकर्मीसँग कुरा गर्दै उनले उम्मेदवारी फिर्ता नलिने अडान दोहोर्याएका हुन् ।
‘कसैले उम्मेदवारी फीर्ता लिनुस् भन्दैमा मैले फिर्ता लिन्नँ,’ कोईरालाले भने, ‘एकपटक बोलेपछि बोली फेर्ने मेरो बानी छैन ।’
आम युवाहरुको भावनाको कदर गर्दै उम्मेदवारी दिएकाले चुनाव जित्नेमा आफू ढुक्क रहेको उनले बताए । काँग्रेस युवा नेता कोईरालाले चितवन क्षेत्र नम्बर ३ र ४ बाट वागी उम्मेदवारी दिएका छन् । चितवन ३ मा काँग्रेसका आधिकारिक उम्मेदवार पार्टी सभापति सुशील कोइराला र ४ मा भीमबहादुर श्रेष्ठ हुन् ।
विकासले उम्मेदवारी फिर्ता नलिए काँग्रेसको मत विभाजन भइ अन्य दलका उम्मेदवारलाई सहयोग पुग्ने निश्चित छ । नेपाली काँग्रेस चितवनमा निर्वतमान सभापति विकास कोईरालालाई पहिले दिएको टिकट फीर्ता लिएर पार्टीले अर्को उम्मेदवार तोकेपछि केहिसमयदेखि उनी रुष्ट बन्दै आएका छन् ।