दशैंमा महङ्गीले ढाड सेक्यो

काठमाण्डु टुडे २०७० असोज २२ गते ३:१४ मा प्रकाशित

धनगढी, २२ असोज । वडा दशैंको चहलपहल बढ्दै गएका बेला मालसामानको मूल्य बढेपछि सर्वसाधारणहरु मारमा परेका छन् । कैलालीको धनगढी, अत्तरिया, टीकापुर, लम्कीलगायतका बजार क्षेत्रमा दशैंका लागि मालसामान किनमेल गर्नेहरुको घुइँचो बढेसँगै कतिपय सामानको मूल्य पनि चर्को भएको स्थानीय उपभोक्ताले गुनासो गरेका छन् ।

बर्सेनि बढ्दै गएको महँगीले गरिबका लागि दशैं दसाका रुपमा देखिन थालेको स्थानीय मीनबहादुर साउदले बताए । ‘घरमा एक जनाको कमाईले नपुग्ने भयो, दशैं नआएको भए हुन्थ्यो जस्तो लाग्छ ।’ स्थानीय बजारमा दशैंका लागि कपडा किनमेल गरिहेका साउदले दुखेसो सुनाए, ‘‘गत वर्ष  ७०० मा पाउने पाइन्ट यसपालि एक हजार पुगेको रहेछ ।’

हुनेखाने वर्गका लागि दशैंमा रमाइलो भए पनि गरिब एवम् विपन्न वर्गका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मातसरह बनेको अर्का उपभोक्ता मनु नेपालीले बताइन् । दशैंका बेला घरमा आवश्यक पर्ने खर्चपातको जोहो गर्न नसक्दा नयाँ लुगा लगाउन र मीठो खान नपाइने अवस्था आएको उनको गुनासो छ ।

‘मजदुरी गरेर भएको आम्दानीले महँगीका कारण दशैंका लागि घर खर्च धान्न धौधौ भइसक्यो,’ मजदुरी गरेर जीवनयापन गरिरहेका मजदुर कालुराम चौधरीले भने ।

महँगी बर्सेनि बढ्दै गए पनि यसलाई नियन्त्रण गर्नेतर्फ सरकारले ध्यान नदिएको यी उपभोक्ताको गुनासो छ । नोकरीका लागि विदेशिएकाहरु दशैं मनाउन घरका लागि लत्ताकपडा, गुन्टा लिएर फर्किने क्रममा सीमामा लुटिने र दुव्र्यवहार खेप्नुपर्ने अर्को समस्या झेल्न बाध्य छन् ।

नेपाल–भारत सीमा समन्वय बैठकमा दुवै देशका समकक्षी अधिकारीहरुले सीमामा ज्यादती रोक्ने सहमति गर्ने गरेको भए पनि त्यस्तो सहमति कागज र कुरामा मात्रै सीमित हुने गरेको पीडितहरु बताउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us