
काठमाण्डु, २२ असोज– समानुपातिक तर्फका उम्मेदवारहरुको वन्दसूचीलाई अन्तिमरुप दिन एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालयको बैठक मंगलबार बस्दै छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा दिउँसो बस्ने बैठकले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्दसूचीलाई संशोधन गर्ने बताइएको छ । ‘बैठकले सबै वर्ग र क्षेत्रलाई मिलाएर वन्दसूचीलाई अन्तिम रुप दिन्छ,’ प्रवक्ता अग्नी सापकोटाले भने ।
निर्वाचन आयोगले बन्दसूची संशोधनका लागि ३० गतेसम्मको समय दिएको छ ।
बैठकमा वागी उम्मेदवारहरुको उम्मेदवारी फिर्ता गराउन पार्टीले गर्ने पहलबारे पनि छलफल हुने बताइएको छ । एकीकृत माओवादीका सबै वागी उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने प्रवक्ता सापकोटाको विश्वास छ । यसअघि पार्टीको निर्देशन अनुसार रसुवा र धनुषा क्षेत्रनम्बर १ बाट भने एमाओवादीका वागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
यसैगरी बैठकमा निर्बाचन घोषणापत्रको मस्यौदामाथि समेत छलफल हुने बताइएको छ । डा.बाबुराम भट्टराई नेतृत्वको समितिले घोषणा पत्रको मस्यौदा तयार पारेको छ ।