चुनावका उम्मेदवार पक्राउ

काठमाण्डु टुडे २०७० असोज २२ गते २:१४ मा प्रकाशित

विराटनगर, २२ असोज । काठमाण्डुका एक निर्माण व्यवसायीको अपहरणको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

कटहरीका निर्माण व्यवसायी कृष्ण बोहरा, निजका छोरा सुगम र मधेसी जनअधिकार फोरम नेपाल विराट क्षेत्रका सदस्य श्याम मण्डललाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । काठमाण्डु महानगरपालिका–११ बबरमहल निवासी एमके निर्माण सेवाका धनी माधव खनाललाई यही असोज १९ गते विराटनगरबाट काठमाण्डु जान लागेको अवस्थामा अपहरण गरेको उनीहरुमाथि आरोप लागेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको मोरङका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए ।

आफ्नो कार्यकर्ता पक्राउ गरेको विरोधमा फोरम नेपालका कार्यकर्ताहरूले रङ्गेली–विराटनगर सडक अवरुद्ध गर्नुका साथै को १ च ५६०२ को एउटा टाटा भ्यानलाई तोडफोड गरेका थिए ।

गाडी तोडफोड गरेको आरोपमा फोरम नेपालका मोरङ क्षेत्रनम्बर ६ का संविधानसभा उम्मदेवार मृत्युन्जय झा, फोरम नेपालका मोरङ अध्यक्ष उमेश यादवसहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us