
कञ्चनपुर, २२ असोज– बालबालिका उत्थान तथा ग्रामीण विकास केन्द्र काठमाण्डुले असार पहिलो साताको बाढीबाट विस्थापित भएका कञ्चनपुरका ५२ घरपरिवार बाढीपीडितलाई राहत वितरण गरेको छ । आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचन आचारसंहिताले राहत वितरण सरकारी निकायबाट हुनुपर्ने नियम भएपछि केन्द्रले जिल्ला प्रशासन कार्यालयको राहोवरमा राहत वितरण गरेको हो ।
राहत वितरण कार्यक्रममा कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीले बाढीपीडितलाई राहत प्रदान गरेका थिए । बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले राहत वितरण गरिएको बालबालिका उत्थान तथा ग्रामीण विकास केन्द्र काठमाण्डुका सचिव धु्रव फुयाँलले बताए । दार्चुला र कञ्चनपुरमा राहत दिने भनिए पनि संस्थाले कञ्चनपुरलाई नै रोजेको उनको भनाइ छ ।
असार पहिलो साताको बाढीबाट कञ्चनपुरका १०० भन्दा बढी घर विस्थापित भएका छन् । स्विस संस्थाको सहयोगमा केन्द्रले कञ्चनपुरको शंकरपुर–७ का ३१ र भीमदत्त नगरपालिका–९ का २१ गरी ५२ जनालाई राहत सामान वितरण गरेको हो । केन्द्रका अनुसार प्रतिपरिवार चिउरा एक केजी, चिनी दुई केजी, चना एक केजी, मटर एक केजी, चामल २५ केजी, नुन एक केजी, डेढ केजी तेल, एक थान धोती, एक थान कमिज, दुई थान कम्बल, १० प्याकेट चाउचाउ र नगद रु एक हजार बाढीपीडितलाई वितरण गरेको छ ।
बालबालिका उत्थान तथा ग्रामीण विकास केन्द्रले अनाथ तथा बाबुआमा नभएका बालबालिकालाई पढाउँदै आएको केन्द्रका स्वयम्सेवक टेकनाथ देवकोटाले जानकारी समेत गराए ।
यसअघि विभिन्न सङ्घसंस्था कलेजहरुले पनि कञ्चनपुरका बाढीपीडितलाई राहत सहयोग वितरण गरेका थिए ।