बझाङमा खाद्यान्नभन्दा मदिरा बढी आयात

काठमाण्डु टुडे २०७० असोज २२ गते १:५७ मा प्रकाशित

बझाङ, २२ असोज – सुदूरपश्चिमको विकट जिल्ला बझाङमा दशैंको आगमनसँगै खाद्यान्नभन्दा मदिरा अत्यधिक आयात हुने गरेको छ । असोज महिना सुरु भएपछि तराईबाट आउने मालबाहक ट्रकमा अन्य मालसामानभन्दा मदिरा अत्यधिक भित्रिने गरेको पाइएको छ । यो समयमा दशैं, तिहारसँगै स्थानीय चाडपर्व पर्ने भएकाले अन्य सामानभन्दा अत्यधिक मदिरा भित्रिएको हो । सदरमुकाम चैनपुरलगायत आसपासका गाविसस्थित थोक व्यापारीका गोदाम अत्यधिक मदिराले भरिपूर्ण छन् ।

दशैंको मुखमा सँधै खाद्यान्नको अभाव हुने यस जिल्लामा मदिराको भने कहिल्यै पनि अभाव हुँदैन । यार्सागुम्बाबाटै बर्सेनि करिब एक अर्बको आम्दानी गर्ने यस जिल्लाबासीहरु अधिकांश पैसा मदिरामा नै खेर फालिरहेका छन् । दशैंको मुखमा भोकमरी फैलिएर बझाङको अति दुर्गम गाविस काँडाका बासिन्दा प्रतिकेजी १ सय ५० रुपैयाँ तिरेर मोटो चामल खान बाध्य भइरहेका बेला चैनपुरका व्यापारीहरुले भने दिनप्रतिदिन मदिरा मात्र आयात गर्ने गरेको स्थानीय महिला अगुवाहरुको गुनासो छ । उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष जगत मल्ल सरकारी उदासीनता र नाफामुखी व्यापारीका कारण यस्तो अवस्था सिर्जना भएको र आफूहरु मागअनुसारको मदिरा आयात गर्न बाध्य भएको बताउँछन् ।

अत्यधिक मदिरा सेवनका कारण एक वर्षमा झन्डै २५ जनाको मृत्यु भएको र पाँच महिला बलात्कारमा परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । खाद्यान्नभन्दा माग बढी मदिराको हुने गरेको र सुदूरपश्चिमको सबैभन्दा बढी मदिरा बिक्री बझाङमा हुने गरेको होटल व्यवसायी संघका अध्यक्ष ढेपबहादुर भण्डारीले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us