जलस्रोतमा बिश्व बैंकको लगानी बढाउन अर्थमन्त्री अमेरिका प्रस्थान

काठमाण्डु टुडे २०७० असोज २१ गते १८:१२ मा प्रकाशित

shankar koiralaकाठमाण्डु २१ असोज–अर्थमन्त्री शंकरप्रसाद कोइराला विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको यही असोज २४ देखि २७ गतेसम्म अमेरिकाको वासिङटन डिसीमा आयोजना हुने संयुक्त वार्षिक बैठकमा भाग लिन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन ।
विश्व बैंकको गर्भनरमा अर्थमन्त्री र वैकल्पिक गर्भनरमा अर्थसचिव रहेका छन । बैठकमा विभिन्न मुलुकका अर्थमन्त्रीहरू केन्द्रीय बैकका गर्भनहरू, निजी क्षेत्रका कार्यकारी प्रमुखहरू र प्राज्ञसमेत सहभागी भई गरिबी निवारण आर्थिक विकास तथा सहायता प्रभावकारिताजस्ता विश्वव्यापी चासोका विषयहरूमा छलफल तथा विचार विमर्श हुनेछ ।
अर्थमन्त्री कोइरालाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बैठकमा भाग लिनुका अतिरिक्त विश्व बैंक अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदाधिकारीहरूसँग छलफल र  परामर्श गर्नेछ । अमेरिका प्रस्थान गर्नुअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा मन्त्री कोइरालाले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट नेपाललाई दिँदै आएको सहयोग बढाउन अधिकतम् प्रयत्न गरिने बताए । उनले विश्व बैंक र मुद्रा कोषसँग नेपालको जलविद्युतको विकास र विस्तारका लागि सहयोग बढाउन प्रयत्न गर्ने बताए ।
अर्थमन्त्री कोइराालले निर्देशकस्तरको कर्मचारी रहने गरी विश्व बैंकको पूर्ववत्रुपले काठमाण्डुमा कार्यालयको स्तरवृद्धि तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको समेत कार्यालय खोल्ने विशेष पहल गरिने बताए ।
विश्व बैंकको बोर्ड अफ गर्भनर सबैभन्दा उच्च तहको निकाय भएकाले त्यसले गर्ने नीतिगत निर्णयले विश्वको समग्र अर्थतन्त्रमा प्रभाव पार्ने उनले बताए ।    विश्व बैंक नेपाललाई सबैभन्दा बढी सहायता प्रदान गर्ने दातृ निकाय पनि हो । यसले वार्षिकरुपमा नेपाललाई ४० करोड अमेरिकी डलर बराबरको सहयोग प्रदान गर्दै आएको छ । विश्व बैंकले सन् २०३० सम्म गरिबीलाई घटाई तीन प्रतिशतमा झार्ने तथा समावेशीतालाई प्राथमिकतामा राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us