निर्वाचन आयोगका कर्मचारी दशैं विदा नबस्ने

काठमाण्डु टुडे २०७० असोज २१ गते ९:५९ मा प्रकाशित

nirbachan-aayogकाठमाण्डु, २१ असोज–निर्वाचन आयोगका कर्मचारीहरुले यसपालीको दशैं विदा नपाउने भएका छन् । चुनावको तयारीमा लाग्नु पर्ने भएकाले सबै कर्मचारीलाई विदा नदिने आयोगले निर्णय गरेको हो ।

‘निर्वाचन प्रकृया शुरु भैसकेको र सबै कर्मचारी तयारीमा लाग्नुपर्ने भएकाले यसपालीको दशैंमा विदा नबस्ने निर्णय भएको हो,’ आयोगका प्रवक्ता बीरबहादुर राईले भने । राईका अनुसार दशैंको बेला बिदा नबस्न केन्द्र र जिल्ला कार्यालयका कर्मचारीहरुलाई परिपत्र गरिसकिएको छ ।

निर्वाचन आयोगका जिल्ला शाखामा ५ सय ७० जना कर्मचारी कार्यरत रहेको बताइएको छ ।

यसैबीच मंसिर ४ गते हुने संविधानसभा निर्बाचनका लागि यहि असोज १७ गते प्रत्यक्षतर्फको उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली सोमबार प्रकाशन हुदैछ । २ सय ४० वटै निर्बाचन क्षेत्रका उम्मेदवारमाथि परेका उजुरी छानविन सकिएकोले सम्वन्धित जिल्ला निर्बाचन कार्यालयमा नामावली प्रकाशित गरिने निर्बाचन आयोगले जनाएको छ ।

आयोग प्रबक्ता राईका अनुसार प्रकृया नपुगेका ५ जनाको उम्मेदवारी भने रद्ध गरिएको छ । असोज २३ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी २४ गते चुनाव चिन्ह प्रदान गरिने निर्बाचन आयोगको कार्यतालिका छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us